२०८१ माघ २५ शुक्रबार

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू–१९ विश्वकपको उपाधि

  • admin २०८० माघ २९ सोमबार

काठमाडौं।उपाधिको बलियो दाबेदार भारतलाई ७९ रनले पराजित गर्दै अष्ट्रेलियाले चौथोपटक यु-१९ क्रिकेट विश्वकपको उपाधी जितेको छ।

अष्ट्रेलियाले यसअघि १९८८,२००२ र २०१० मा उपाधी जितेको थियो।
टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५३ रन बनाएको थियो।अष्ट्रेलियाका हर्जास सिङले ३ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए।ह्युग वेबगेनले ६६ बलमा ५ चौकासहित ४८ रन जोडे। ओलिभर पीक ४३ बलमा २ चौका र १ छक्कासहित ४६ रनमा अविजित रहे।ह्यारी डेक्सन ५६ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा आउट भए।

बलिङतर्फ भारतका राज लिम्बानीले १० ओभरमा ३८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए।नमन तिवारीले २ विकेट लिए।सौमी पाण्डे र मुशीर खानको नाममा समान १-१ विकेट रह्यो।

२ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १ सय ७४ रनमा अल आउट भयो।भारतका ओपनर आदर्श सिंहले ७७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिए।मुरुगन अभिषेकले ४६ बलमा ५ चौका र १ छक्कासहित ४२ रन जोडे।त्यस्तै मुशीर खानले २२ रन जोड्दा नमन तिवारी १४ रनमा अविजित रहे।

विश्वकपमा उत्कृष्ट बलिङ गरेका दक्षिण अफ्रिकाका क्वेना मफाका सर्वोकृष्ट खेलाडी ( प्लेयर अफ द टुर्नामेन्ट ) घोषित भए।दक्षिण अफ्रिकालाई सेमिफाइनलसम्म पुर्याउन उत्कृष्ट प्रदशन गर्ने क्रममा मफाकाले २१ विकेट लिएका थिए।