२०८१ माघ २५ शुक्रबार

नेपाली भजन कीर्तन समूहको व्यवस्थापनमा एडिलेडमा भव्यताको साथ आमा सेमिनार सम्पन्न

  • admin २०८० फागुन १८ शुक्रबार

एडिलेड / अस्ट्रेलियाको एडिलेडमा आमा सेमिनार भव्यताको साथ सम्पन्न भएको छ । मानवसेवा आश्रमको सहयोगार्थ नेपाली भजन कीर्तन समूह एडिलेडको व्यवस्थापनमा सम्पन्न भएको सेमिनारमा लगभग ३०० भन्दा बढी  उदारमनहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

मानवता प्रवर्धनको उद्देश्यसहित आयोजना गरिएको उक्त सेमिनार एडिलेडको स्थानीय हल Active Elders Hall , Ascot Park मा सम्पन्न भएको हो । मानवता प्रवद्र्धन महाअभियानका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उपाध्यक्ष उमा भण्डारी, कोषाध्यक्ष होमनाथ तिमल्सिना एवं पत्रकार राजेन्द्र बानियाँले कार्यक्रमहरुको सहजीकरण गर्नुभएको थियो। वि.स २०८२ भित्र नेपाललाई सडक मानवमुक्त बनाउने संकल्प लिएको मानवसेवा आश्रमको सहयोगार्थ गोरखा समाज अष्ट्रेलियाको आयोजना र नेपाली भजन कीर्तन समूहको व्यवस्थापनमा एडिलेडमा सम्पन्न भएको कार्यक्रमबाट ४२ जना अष्ट्रेलियावासी उदारमनद्धारा करिब १५ हजार डलरको प्रतिवद्धता जाहेरी भएको नेपाली भजन किर्तन समूहका अध्यक्ष खगेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

“जसका कोहि हुदैनन् ,जसको केहि हुदैन उनैको सेवामा समर्पित ” भन्ने स्लोगनका साथ आयोजना गरिएको आमा सेमिनार कार्यक्रमका माता टहली सापकोटा र बुबा खडानन्द सापकोटाका छोरा गोविन्द सापकोटा र बुहारी सुधा किरण सापकोटा कडेँलले मानवसेवा आश्रम चितवनको एक कोठा निर्माणको लागि ५ लाख ११ हजार १ सय ११ रुपैँयाको प्रतिवद्धता जनाउनुभएको थियो ।

अष्ट्रेलियावासी हरी प्रसाद रेग्मी र सिता रेग्मीज्यूले आश्रमको आजीवन एक समयको भोजनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ योगदान गर्नुभएको थियो । मानवता प्रवद्धन तथा मातृत्व र मातृभुमीको सम्मानमा आयोजना गरिएको सोही कार्यक्रमकै बिच अनिता पराजुलीले एक जना बेसहाराको अभिभावकत्व लिनुभएको थियो भने बन्धू कार्की र सन्तोषी गौतमले पनि एक बेसाहराको अभिभावकत्व लिनुभएको थियो । विगत ६ वर्षदेखि क्रियाशील नेपाली भजन कीर्तन समुहले, नेपाली धर्म, परम्परा, रीतिरिवाज एवं संस्कृतिलाई परदेशमा जीवन्त राख्न विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।

हालसम्म मानव सेवा आश्रमले घरवार र परिवारविहिन भई सडकपेटीमा कष्टपूर्ण जीवन बिताउन विवश १० हजारभन्दा बढी सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, पालनपोषण, औषधोपचार र पारिवारीक पुर्नमिलन गरिसकेको छ । देशका सातै प्रदेशमा २४ सेवा केन्द्र सञ्चालन गरी मानव सेवा आश्रमले कसैले पनि नेपालको सडकपेटीमा कष्टपूर्ण जीवन बिताउन नपर्ने अवस्था सिर्जना गर्न सेवा प्रवाहलाई तीव्र बनाएको छ । यस्तै, मार्च २ तारिख मेलबर्न, मार्च १० तारिख तास्मानिया, मार्च १५ तारिख ब्रिजबेन, मार्च १७ तारिख क्यानबेरा र मार्च २३ तारिख पर्थमा च्यारिटी डिनर तथा आमा सेमिनार हुदैँछ।