२०८१ माघ २५ शुक्रबार

“महजात्रा” ले जित्यो एडिलेडमा सबैको मन (फोटो फिचर)

  • admin २०८१ जेठ २८ सोमबार

एडिलेड / एक दशक पछि एडिलेडको मञ्चमा नेपालका चर्चित हाँस्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहितको कलाकारहरुले आफ्नो भव्य प्रस्तुति दिएका छन् । बहुप्रतीक्षित ” महजात्रा ” एडिलेडको स्थानीय क्याप्री थिएटर गुडवुडमा सम्पन्न भएको हो । उक्त थिएटरमा नेपालीहरूको पहिलोपटक कार्यक्रम सम्पन्न भएको हो ।

मह जोडीको साथमा वरिष्ठ कलाकार नरेन्द्र कंसाकार,किरण केसी कुन्ती मोक्तान र शिला बहादुर मोक्तान लगायतका कलाकार पनि मनोरञ्जन र सांस्कृतिक प्रस्तुति दिएका थिए । स्थानीय कलाकारहरूको नृत्यबाट सुरु भएको कार्यक्रममा वरिष्ठ गायिका कुन्ती मोक्तानले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरेकी थिइन्। साथै स्थानीय लोकगायक मेक्सम खातीले पनि आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । मह जोडीको प्रस्तुति हेर्न एडिलेड कर्मथलो बनाएका नेपालीहरूका साथै नेपालदेखि आउनुभएका अभिभावकहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बहुचर्चित व्यक्तित्व मदनकृष्ण श्रेष्ठ मञ्चमा प्रवेश हुँदा सबै दर्शकहरुले उठेर उहाँलाई सम्मान गरेका थियो । दर्शक आफ्नो भगवान भएको भन्दै श्रेष्ठले पनि दुवै हात जोडी दर्शकलाई शिर निउराएर सम्मान गर्नुभएको थियो । वरिष्ठ कलाकार श्रेष्ठले आफ्नो प्रस्तुति दिनु अघि आफ्नो स्वास्थ्य स्थितिबारे दर्शकलाई जानकारी दिनुभएको थियो। उनले भनेका थिए; उमेर पनि बुढो भयो, त्यसमाथि पार्किन्सनको बिरामी छु, खुट्टा अगाडि बढाउन निकै गाह्रो हुन्छ , यहाँहरूको आशीर्वाद र मायाले गर्दा साहस बटुलेर यहाँसम्म आइपुगेको छु। फेरि श्रेष्ठले थप्दै भन्छन् १२ वर्षपछि खोलो फर्किन्छ भन्छन् १० वर्षमा आएको छु । फेरि दुई वर्षपछि आउन सक्छु कि भन्दा सबै दर्शकका आँखा रसाएका थिए र दर्शकहरूले भन्दै थिए (you are legend,I love you maden dai)
स्टेजमा कुर्ची राखिएको थियो ,आफ्ना चर्चित गीतहरू श्रेष्ठले कुर्चीबाट उड्दै र बस्दै गाइरहेका थिए । फुलबुट्टे सारी, एउटा सपना छ ,बोलका गीतहरु गाउँदा दर्शकले श्रेष्ठलाई साथ दिइरहेका थिए ।

महजात्रामा यस पटक मदनकृष्ण हरिवंशको जोडीले ‘होलबडी चेकअप’ र हरिवंश आचार्यको उपाध्याय मम सेन्टर प्रहसन गरेका थिए ।’होलबडी चेकअप’ देशको आर्थिक, सामाजिक परिवेशममा केन्द्रित रही नागरिकको स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा देखिएको लापरबाहीबारे व्यंग्य गरिएको थियो । उक्त हाँस्यव्यंग्यमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य ,किरण केसी ’राता मकै’, नरेन्द्र कंसाकार लगायतका कलाकारको बेजोड प्रस्तुति रहेको थियो ।

त्यसैगरी हरिवंश आचार्यको उपाध्याय म:म सेन्टरको उद्घाटनले नेपाली राजनीति क्षेत्रमा देखापरेका विकृति र विसंगतिलाई व्यङ्ग गरेका थिए । साँझ ६.३० बजेदेखि सुरु भएको कार्यक्रमको संचालन सवा डिसी न्यौपाने र प्रेरणा ढुंगानाले गर्नुभएको थियो भने कार्यक्रम बेलुका १०:३० बजेसम्म सञ्चालन भएको थियो ।

एडिलेडका लागि एसके इभेन्टको व्यवस्थापनमा सञ्चालन भएको उक्त कार्यक्रमको शीर्ष प्रायोजकको रुपमा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिस रहेको थियो भने कार्यक्रमको मिडिया पार्टनर Saathi Tv र Dainiki रहेको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी हातहरुका साथै पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो।