एडिलेड । साउथ अष्ट्रेलियामा येँया पुन्ही इन्द्र जात्रा हुने भएको छ । गुठी साउथ अष्ट्रेलियाको आयोजनामा सेप्टेम्बर २१ तारिख सान जर्जियो ला मोलारा सामुदायिक केन्द्र हेनरी स्ट्रीट पेनहममा इन्द्र जात्रा फेस्टिभल हुन लागेको हो।
गुठी साउथ अष्ट्रेलियाका अध्यक्ष पन्ना काजी महर्जनले फेस्टिभलमा कुमारी जात्रा, लाखे, पुलुकिसि, धिमे बाजा, समयबजी समावेश गरिएको बताए । साथै कुमारी नृत्य, ब्रजयोगिनी नृत्य, पञ्च बुद्घ नृत्य, चार्य नृत्य, मञ्जुश्री नृत्य पनि समावेश गरिएको अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।
वर्षाका देवता देवराज इन्द्रको पूजाआरधना गरी इन्द्रजात्रा पर्व मनाउने परम्परा छ । निःशुल्क प्रवेश रहेको यस कार्यक्रममा इन्द्र जात्रा अर्थात येँयाः पुन्ही विगत २०१७ देखि एडिलेडमा आयोजना हुदै आएको छ। यसै क्रममा नेपालको महत्वपुर्ण जात्रा `ईन्द्र जात्रा´ एडिलेडमा सातौँ पटक हुन लागेको हो। ।
गुठी साउथ अष्ट्रेलियाका सह सचिव सजिन प्रधानाङ्गले नेपालका अनमोल प्राचीन सम्पत्तिको रूपमा रहेका सांस्कृतिक सम्पदाहरूलाई विश्वमाझ चिनाउँदै लैजानुका साथै रीतिरिवाज, कला संस्कृतिलाई साउथ अष्ट्रेलियाबासिहरु बिच चिनाउने प्रयास स्वरूप इन्दजात्रा कार्यक्रमको आयोजना गरेको बताए। उनले यस्ता कार्यक्रमले नेपालभित्रका रितिरिवाजहरुको संवर्धन गर्दै नेपालको पर्यटन विकासमा टेवा पुग्नुका साथै विदेशमा हुर्किदै गरेको दोस्रो पुस्ताले समेत आफ्नो संस्कृतिको बारेमा सिक्ने मौका पाउनेमा गुठी साउथ अष्ट्रेलिया विश्वस्त रहेको समेत बताए । सहसचिव प्रधानाङ्गले कार्यक्रममा उपस्थितका लागि सम्पूर्ण एडिलेडबासी नेपालीहरूलाई अनुरोध गरेका छन्।
२०१५ मा स्थापना भएको गुठी साउथ अष्ट्रेलियाले नेवा संस्कृति संरक्षण र संवर्धन गर्ने उदेश्यका साथ विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
तपाइँको प्रतिक्रीया