२०८१ असोज २९ मङ्गलबार

एडिलेडमा भव्यताका साथ इन्द्रजात्रा मनाइयो (फोटो फिचर)

  • admin २०८१ असोज ७ सोमबार

एडिलेड अष्ट्रेलिया । साउथ अष्ट्रेलियामा येँया पुन्ही इन्द्र जात्रा फेस्टिभल भव्य रुपमा सम्पन्न भएको छ । नेवाः संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले गरिएको इन्द्रजात्रा कार्यक्रमको आयोजन गुठी साउथ अस्ट्रेलियाले गरेको थियो । २०१५ मा स्थापित गुठी साउथ अष्ट्रेलियाले २०१७ देखी एडिलेडमा सार्वजनिक रुपमा ईन्द्र जात्रा गर्दै आएको छ ।

स्थानिय सान जर्जियो ला मोलारा कम्युनिटीहल सेन्टरमा आयोजित जात्रामा नेवारी समुदायका साथै अन्य समुदायको पनि बाक्लो उपस्थिति रहेको थियो । गुठी साउथ अष्ट्रेलियाका अध्यक्ष पन्ना काजी महर्जनले सबै समुदायका व्यक्तिहरू उपस्थित भई कार्यक्रम भव्य बनाइदिनु भएकोमा धन्यवाद दिनुहुँदै आगामी दिनहरुमा अझै भव्य रुपमा कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

निःशुल्क प्रवेश रहेको कार्यक्रममा इन्द्र जात्रा अर्थात येँयाः पुन्ही फेस्टिभलमा कुमारी जात्रा, लाखे, पुलुकिसि, धिमे बाजा, समयबजी समावेश गरिएको थियो । साथै कुमारी नृत्य, ब्रजयोगिनी नृत्य, पञ्च बुद्घ नृत्य, चार्य नृत्य, मञ्जुश्री नृत्य पनि देखाइएको अध्यक्ष महर्जनले जानकारी दिनुभयो । नेवारी गीत संगीतले पनि जात्राको रौनक बढाएको थियो । वर्षाका देवता देवराज इन्द्रको पूजाआरधना गरी इन्द्रजात्रा पर्व मनाउने परम्परा छ । यसै क्रममा नेपालको महत्वपुर्ण जात्रा `ईन्द्र जात्रा´ एडिलेडमा सातौँ पटक भव्यताका साथ सम्पन्न भएको हो ।

गुठी साउथ अष्ट्रेलियाका सह सचिव सजिन प्रधानाङ्गले नेपालका अनमोल प्राचीन सम्पत्तिको रूपमा रहेका सांस्कृतिक सम्पदाहरूलाई विश्वमाझ चिनाउँदै लैजानुका साथै रीतिरिवाज, कला संस्कृतिलाई साउथ अष्ट्रेलियाबासिहरु बिच चिनाउन यस जात्राले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उनले यस्ता कार्यक्रमले नेपालभित्रका रितिरिवाजहरुको संवर्धन गर्दै नेपालको पर्यटन विकासमा टेवा पुग्नुका साथै विदेशमा हुर्किदै गरेको दोस्रो पुस्ताले समेत आफ्नो संस्कृतिको बारेमा सिक्ने मौका पाउनेमा गुठी साउथ अष्ट्रेलिया विश्वस्त रहेको समेत प्रधानाङ्गले बताए ।