अस्ट्रेलिया ,पर्थ/ पर्थको लिच हाईवेमा सोमबार बिहान भएको डरलाग्दो दुर्घटनामा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार कार चालकले गलत लेनमा कार चलाएकाले यस्तो दुर्घटना भएको हो।
दुर्घटना पर्थको विमानस्थल नजिकै लिच हाईवेमा बिहान करिब ३:४० बजे भएको थियो। टोयोटा RAV4 एसयूभीले उच्च गतिमा गलत लेनमा गुड्दै जाँदा एउटा ट्याक्सीलाई ठक्कर दिएको थियो। ठक्करपछि दुवै गाडीमा आगलागी भएको थियो। दुर्घटनापछि भएको आगलागीमा ट्याक्सीका चालक, ५८ वर्षीय एक पुरुष, र पछाडिको सिटमा बसेकी आमा र छोरी, जसको उमेर ५६ र ८१ वर्ष रहेको, दुबैको घटनास्थलमै मृत्यु भयो। SUV चालकको पनि घटनास्थलमै ज्यान गएको छ । प्रहरीका अनुसार एसयूभी चालकले गलत लेनमा गएपछि दुर्घटना भएको प्रमाण भेटिएको छ। लिच हाईवेका लेनहरू बीचमा पर्खालले छुट्याइएको छ, तर पनि चालकले सो लेन प्रयोग गरेका थिए। थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ । ४३ वर्षका RAV4 को चालकको पहिचानका बारेमा वेस्टर्न अस्ट्रेलियाको प्रहरीले विभिन्न सञ्चारमाध्यमलाई नेपाली मुलुकका चालक भएको जानकारी दिएका छन्। सञ्चार माध्यमहरूले उनको फोटो र नामसहित समाचार प्रकाशन गरिसकेका छन्।
दुर्घटनापछि कारका भग्नावशेषबाट प्राप्त ड्यास-क्याम फुटेजले SUV चालकको अनियमित गतिविधि र दुर्घटनाभन्दा पहिलेको गतिविधिलाई हेर्दा चालकले जानाजान दुर्घटना गराएको अनुमान गरिएको छ । तर चालकले किन यस्तो निर्णय गरे भन्ने विषयमा स्पष्ट जानकारी प्राप्त भएको छैन।
तपाइँको प्रतिक्रीया