एडिलेड — गैरआवासीय नेपाली संघ (NRNA) साउथ अस्ट्रेलियाले आगामी मार्च ९ मा आयोजना हुने नेपाल फेस्टिभल २०२५ लाई सफल बनाउन गठन गरेको सञ्चार समितिको बैठक बिहीबार सम्पन्न भएको छ। बैठकमा संघका उपाध्यक्ष विनोद बाँनिया र सचिव गणेश पराजुलीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
बैठकमा सञ्चार समितिका संयोजक नारायण खड्का तथा सदस्यहरू बालगोपाल उपाध्याय, विकास पौडेल र मिलन दाहालको उपस्थिति थियो। संघका संयोजक संजय पुरीले व्यक्तिगत कार्यव्यस्तताका कारण बैठकमा सहभागी हुन नसकेको सूचना पठाउनुभएको थियो।
बैठकमा हालसम्म भएका तयारीहरूबारे जानकारी गराउँदै उपाध्यक्ष बाँनियाले १० वटा खानाका स्टलहरूको बुकिङ प्रक्रिया करिब करिब अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो र थप स्टल, प्रायोजक तथा स्वयंसेवकहरूको लागि आह्वान गरिरहेको बताए।
बैठकले प्रचार–प्रसार र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक योजना अघि बढाउने सहमति गरेको छ। संघका पदाधिकारीहरूले समितिका सञ्चार सम्पर्क व्यक्तिहरूसँग सहकार्य गरेर फेस्टिभललाई सफल बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए।
नेपाल फेस्टिभललाई अझ प्रभावकारी बनाउन समितिले १३ वटा उपसमितिहरू गठन गरी सबैलाई जिम्मेवारी बाँडफाँड गरिसकेको छ,भने विभिन्न उपसमितिहरूले आ-आफ्नो तरिकाले काम पनि अगाडि बढाइरहेका छन्।आगामी मार्च ९ मा एडिलेडको मुटु ‘एल्डर पार्कमा आयोजना हुने यो फेस्टिभलले नेपाली कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्नुका साथै स्थानीय र अन्तर्राष्ट्रिय समुदायलाई आकर्षित गर्ने लक्ष्य लिएको छ।
फेस्टिभलले सांस्कृतिक झाँकी, खाना, संगीत र स्थानीय तथा अन्तर्राष्ट्रिय पाहुनाहरूको उपस्थिति सुनिश्चित गरी विविध कार्यक्रम प्रस्तुत गर्ने योजना बनाएको छ।
तपाइँको प्रतिक्रीया