२०८१ माघ २५ शुक्रबार

अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादवलाई सिड्नी विमानस्थलमा गरियो स्वागत

  • admin २०८१ माघ ४ शुक्रबार

सिड्नी,अष्ट्रेलिया – अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादव आज सिड्नी आइपुग्नुभएको छ। राजदूत यादवलाई स्वागत गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, न्यु साउथ वेल्सका वाणिज्यदूत सञ्जिव शर्मा, जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वअध्यक्ष कृष्ण गिरी लगायत नेपाली समुदायका विभिन्न प्रतिनिधिहरू सिड्नी विमानस्थल पुगेका थिए।

विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष पोखरेलले राजदूत यादवलाई कार्यकाल सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनए र नेपाली दूतावासबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गर्नुभएको थियो।

राजदूत यादवले नेपाल छोड्ने क्रममा अस्ट्रेलिया र नेपालबीच उच्चस्तरीय राजनीतिक भ्रमणको आयोजना गर्ने योजना रहेको बताउँदै, नेपाली समुदायका समस्याहरू समाधान गर्न आफू सक्रिय भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभएको थियो। उहाँले नेपाली समुदायको हित र दुवै देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो कार्यकाल समर्पित रहने बताउनुभयो।

स्वागत कार्यक्रममा सहभागी वाणिज्यदूत सञ्जिव शर्माले राजदूत यादवको नेतृत्वमा नेपाली समुदायका विविध विषयमा सकारात्मक पहल हुने विश्वास व्यक्त गरे।

अस्ट्रेलियामा नेपालीहरूको संख्या तीव्र रूपमा बढ्दै गइरहेको सन्दर्भमा, नेपाली समुदायका समस्याहरू समाधान गर्नु, सांस्कृतिक कार्यक्रमहरू प्रवर्द्धन गर्नु, र नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउनु राजदूत यादवको प्राथमिकता रहने अपेक्षा गरिएको छ।