२०८१ माघ २५ शुक्रबार

एडिलेडमा होली फेस्टिवलको तयारी तीव्र

  • admin २०८१ माघ ५ शनिवार

एडिलेड — दक्षिण अष्ट्रेलियामा सक्रिय सामुदायिक संस्था एडिलेड नेपालले आफ्नो वार्षिक कार्यक्रम “होली फेस्टिवल” को तयारी तीव्ररूपमा अगाडि बढाएको छ । यस वर्षको कार्यक्रम आगामी ८ मार्च २०२५ मा हुने भएको छ। एडिलेड नेपालले सन् २०१८ देखी होली फेस्टिवल आयोजना गर्दै आएको भए पनि सन् २०२१ र २०२२ मा कोभिड महामारीका कारण कार्यक्रम रोकिएको थियो।

यस पटकको होली कार्यक्रम मिचेल पार्क स्पोर्ट्स एण्ड कम्युनिटी सेन्टरमा आयोजना हुने जनाइएको छ । कार्यक्रममा डिजे म्युजिक,नेपालबाट आउने कलाकारहरूको प्रस्तुति, स्थानीय कलाकारहरूको प्रस्तुति, र सांस्कृतिक कार्यक्रमको व्यवस्था रहेको संस्थाले जनाएको छ।

नेपाली रीतिरिवाज, परम्परा, संस्कृति तथा चाडपर्व नयाँ पुस्तामाझ उजागर गर्ने उद्देश्यले हरेक वर्ष होली फेस्टिवल आयोजना गर्दै आएको एडिलेड नेपालका अध्यक्ष कबिर पोखरेलले जानकारी दिए ।
निःशुल्क प्रवेश रहेको उक्त कार्यक्रम एक आपसमा रङ दलेर माया तथा सद्भाव साटासाट गर्नुका साथै कार्यक्रममा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति व्यावसायिक स्टलका साथमा विभिन्न खानाका परिकारहरु समेत रहेने पोखरेलले बताउनुभयो ।

अध्यक्ष पोखरेलका अनुसार कार्यक्रममा जुन पायो त्यही रङले छालामा असर गर्ने भएकाले काउन्सिलको परीक्षण र अनुमति अनुसारको रङ कार्यक्रम स्थलमानै बिक्रीका लागि राखिएको रङ मात्र प्रयोग गर्नुपर्ने बताउनुभयो।
स्थानीय मिचेल पार्क ओबलमा हुने उक्त होली कार्यक्रम दिउँसो २ बजेबाट सुरु भएर साँझ ९ बजे सकिनेछ।

विगतका वर्षहरूमा मेरियन काउन्सिल अन्तर्गत भएका कार्यक्रमहरूमा उत्कृष्ट कार्यक्रमका रुपमा नामदर्ता गरिसकेको यस फेस्टिवलका लागि साउथ अष्ट्रेलिया राज्य सरकारबाट यस वर्ष अष्ट्रेलियन डलर १४,४१४ नगद सहयोग प्राप्त गरेको संस्थाले जनाएको छ।
यस होली उत्सवले नेपाली समुदायलाई एकताबद्ध गर्दै सांस्कृतिक सम्पदा जगेर्ना गर्न थप मद्दत गर्ने विश्वास लिइएको छ। रङ, संगीत र नेपाली परम्परा समेटिएको यो उत्सवले एडिलेडका नेपाली समुदायलाई मात्र नभई अन्य स्थानीय बासिन्दालाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ।

https://www.facebook.com/events/431982113263176/?ti=ls