२०८१ चैत ३ सोमबार

क्यानबेरामा फेब्रुअरी २१-२२ मा एन्जाको तेश्रो अधिवेश हुने

  • admin २०८१ माघ २० आइतबार

अस्ट्रेलिया / अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको साझा संगठन अस्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसिएसन (एन्जा) को तेस्रो अधिवेशन आगामी फेब्रुअरी २१ र २२ तारिख (शुक्रबार र शनिबार) अस्ट्रेलियाको राजधानी क्यानबेरामा हुने भएको छ। एन्जाले कार्यसमितिको बैठकपछि एक विज्ञप्ति जारी गर्दै अधिवेशनको स्थान र मिति तय गरेको हो।

अधिवेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनका विभिन्न सत्रहरूमा संगठनको भावी रणनीति, वार्षिक समीक्षा, र नेतृत्व चयनलगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरिने एन्जा अध्यक्ष चिरञ्जिवी देवकोटाले जानकारी दिनुभयो ।

एन्जाले अधिवेशन सफल बनाउन अध्यक्ष चिरञ्जीवी देवकोटा संयोजक रहने र तीनै उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रवक्ता तथा पब्लिक अफिसर सम्मिलित तयारी समिति गठन गरेको छ । यस्तै तथा अधिवेशन आयोजनाका लागि आवश्यक आर्थिक संयोजनको निम्ति उपाध्यक्ष कृष्ण तिवारीको संयोजकत्वमा विनायक अधिकारी, गणेश भट्ट र खगेन्द्र सत्याल सदस्य रहेको उपसमिति निर्माण गरिएको छ । उक्त समितिले अधिवेशनको आयोजना लागि हल तथा आर्थिक व्यवस्थापनको काम गर्ने महासचिव नारायण खड्काले बताउनुभयो । उहाले अधिवेशन क्यानवेरा स्थित स्पाईस रुट्स रेष्टुरेन्टको सभा हल हुने जानकारी समेत दिनुभयो ।

यसैगरि हरेक दुई वर्षमा अष्ट्रेलियामा क्रियाशील पत्रकारमध्ये एकजनालाई प्रदान गरिँदै आएको स्वर्गीय टीका कार्की स्मृति पुरस्कार वितरणको लागि संस्थाका अध्यक्ष देवकोटा, कानुनी सल्लाहका टोनु घोताने र सामाजिक अभियन्ता प्रतिज्ञा अधिकारी सम्मिलित छनोट समिति गठन गरिएको छ । एन्जा कार्यसमितिले अष्ट्रेलियामा क्रियाशिल पत्रकारहरुको लिष्ट समितिलाई उपलब्ध गराउने र समितिले आवश्यक मापदण्ड बनाएर पुरस्कृतको छनौट गर्ने एन्जाले जनाएको छ ।

एन्जाले आफ्नो सदस्यता शुल्कलाई १०० डलर बनाएको छ । यस्तै अधिवेशनमा सहभागिता शुल्क थप १ सय लिने निर्णय पनि कार्यसमितिले गरेको हो । अघिल्लो वर्ष ब्रिसबेनमा सम्पन्न भएको विधान अधिवेशनले तोके बमोजिम पत्रकारिता गरेका तर हाल सक्रिय नरहेका आफ्ना सदस्यहरुलाई संस्थाले एन्जा काउन्सिलमा समेट्ने तयारी गरेको छ । काउन्सिल सदस्यहरुले भने ५० डलर मात्र सदस्यता शुल्क तिर्नुपर्ने
संस्थाले जनाएको छ।

एन्जा अष्ट्रेलियामा सक्रिय पत्रकारहरुको पहलमा सन् २०१९ मा स्थापना गरिएको हो । एन्जालाई नेपाल पत्रकार महासंघले आफ्नो आधिकारिक प्रतिनिधि संस्थाको मान्यता दिएको छ ।

अधिवेशनमा अस्ट्रेलियाभर रहेका नेपाली पत्रकारहरूको उपस्थिति रहने र अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूबीच सहकार्य र संवादलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।