२०८१ चैत ३ सोमबार

ओशियाना नेपाली खेलकूद सम्मेलन (ONSM) को छैठौं संस्करण पर्थमा आयोजना हुँदै

  • admin २०८१ माघ २३ बुधबार

अष्ट्रेलिया / पश्चिम अष्ट्रेलियाको पर्थमा यही आउँदो अप्रिल १८ तारिख शुक्रबारदेखि २० तारिख आइतबारसम्म ओशियाना नेपाली खेलकूद सम्मेलन (ONSM) को छैठौं संस्करण आयोजना हुने भएको छ। यो प्रतिष्ठित प्रतियोगिता हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ, जसले ओशियाना क्षेत्रमा रहेका नेपाली समुदायहरूलाई खेलकूद मार्फत एकताबद्ध गर्ने उद्देश्य राखेको छ।

‘मिनी ओलम्पिक’ अवधारणामा आधारित यस सम्मेलनमा अष्ट्रेलिया र न्यूजिल्यान्डका नेपाली खेलाडीहरूले विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै नेपाली खेलकूदप्रतिको आकर्षण र लगावलाई अन्तर्राष्ट्रियस्तरमा देखाउँदै आएका छन् । छोटो समयमै यो कार्यक्रम नेपाली समुदायबीच अत्यन्त लोकप्रिय बन्न सफल भएको छ।

साउथ अष्ट्रेलियाबाट यस वर्ष १० वटा खेलमा सहभागिता जनाइने संयोजक सुपक अधिकारीले जानकारी दिनुभएको छ। ती खेलहरूमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबल टेनिस, लन टेनिस, ब्याडमिन्टन, पौडी, गल्फ, र ५ किलोमिटर दौड समावेश छन्। इच्छुक खेलाडीहरूले तोकिएको फर्म भरेर सहभागिताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको अधिकारीले बताउनुभएको छ।

खेलकूद मिटका सल्लाहकार तथा एडिलेड नेप्लिज क्रिकेट एशोसिएसनका अध्यक्ष विजय जोशीले केही खेलका लागि तयारी शुरू भइसकेको जनाउनुभएको छ। विशेषगरी क्रिकेट, लन टेनिस, गल्फ, र दौडमा खेलाडीहरू प्रशिक्षणमा जुटिसकेका छन्। यो प्रतिस्पर्धाले खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउनका साथै अन्तरसमुदायिक मित्रताको ससन्देश फैलिने जोशीले बताउनुभयो।

आगामी प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सक्नेछन्:

विजय जोशी: ०४२११०२४३७
थिर गुरुङ: ०४३३८२२८७६
सन्तोष जंग अधिकारी: ०४१२६१११३५
सुपक अधिकारी: ०४१५६१२५५९

सन् २०२३ मा राजधानी क्यानबेरामा आयोजित पाँचौं ओशियाना नेपाली खेलकूद मिटमा दक्षिण अष्ट्रेलियाले उल्लेखनीय सफलता हासिल गरेको थियो। क्रिकेटमा स्वर्ण पदक जित्नुका साथै लन टेनिस, दौड, र गल्फमा पनि पदक जित्न सफल भएको थियो। यस पटक पनि यस्तै उत्कृष्ट प्रदर्शन दोहोरिने अपेक्षा गरिएको छ।

यस प्रकारका प्रतियोगिताले खेलकूदमा मात्र होइन, नेपाली पहिचान, संस्कृति, र एकतामा पनि योगदान पुर्‍याउने विश्वास गरिएको छ।