एडिलेड, अष्ट्रेलिया – नेपाली कलाकार शिव परियार, करण परियार, सलोमी गुरुङ र अभिनेत्री झरना रिसाललाई सांगितिक यात्राको क्रममा एडिलेडमा सम्मानित गरिएको छ। नेप्को ग्रुपले आयोजना गरेको सम्मान समारोहमा साउथ अष्ट्रेलियाका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत दिपक धमला र म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामाले कलाकारहरूलाई सम्मान प्रदान गरे।
समारोहमा बोल्दै वाणिज्यदूत धमलाले साउथ अष्ट्रेलियामा नेपाली समुदायको संख्या बढेसँगै नेपाली कलाकारहरूको आगमन र सांगीतिक कार्यक्रमहरूको बढ्दो क्रमलाई सकारात्मक रूपमा लिनुपर्ने र यस्ता कार्यक्रमले प्रवासी मनहरू एकजुट हुने बताउनुभयो।
काउन्सिलर लामाले प्रवासमा रहेका नेपालीहरूको सांगीतिक लगाव र योगदानको बारेमा चर्चा गर्दै, नेपाली कलाकारहरूको स्वागत र सम्मान नियमित हुँदै गएको कुरा उल्लेख गर्नुभएको थियो।साथै लामाले प्रवासमा हुने यस्ता कार्यक्रमले नेपाली गीत संगीतलाई अझै माथि उठ्न सहज हुने बताउनुभएको थियो।
सम्मानित कलाकार शिव परियारले अष्ट्रेलिया बारम्बार भ्रमण गरेको र यहाँका नेपाली समुदायको माया र समर्थनका लागि आभार व्यक्त गरे।साथै उहाँले अस्ट्रेलियाबाट पाएको मायालाई सधैं सम्झिरहने पनि बताउनुभएको थियो।
नेप्को ग्रुपका निर्देशक दिपक लामाले एडिलेडको नेपाली समुदायले सधैं कलाकारहरूलाई विशेष सम्मान र माया दिइरहेको बताउनु भयो । साथै लामाले प्रवासमा रहेका नेपालीहरूको सांगीतिक लगावले नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरूलाई उत्प्रेरित गरेको बताए।
कार्यक्रम एडिलेडस्थित ग्लेनेलको शेर्पा नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको थियो। कार्यक्रमको सञ्चालन सारङ्गी इभेन्टका निर्देशक विकास पौडेलले गरेका थिए।
चर्चित गायक शिव परियार, नेपाल आइडल सिजन ५ का विजेता करण परियार, प्रथम उपविजेता सलोमी गुरुङ र चर्चित अभिनेत्री झरना रिसाल आगामी शुक्रवार साँझ सारङ्गी इभेन्टको आयोजनामा हुने सांगितिक कार्यक्रममा सहभागी हुनेछन्। ‘शिव परियार विद् नेपाल आइडल’ नामक उक्त सांगीतिक कार्यक्रम शुक्रवार साँझ ६ बजेबाट म्यारियन रोडस्थित एभरेस्ट इभेन्ट सेन्टरमा आयोजना हुनेछ।
तपाइँको प्रतिक्रीया