२०८२ बैशाख १५ सोमबार

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सदस्यता खुल्ला, २० हजार सदस्य बनाउने लक्ष्य

  • admin २०८१ फागुन २९ बिहीबार

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले आगामी दुई वर्षका लागि सदस्यता शुल्क खुल्ला गरेको छ। नयाँ सदस्यता शुल्क ३० डलर र आजीवन सदस्यता शुल्क २५० डलर तोकिएको छ।

संस्थाका महासचिव सन्तोष कुँवरले जानकारी सहितको सूचना मार्फत सदस्यता नवीकरण र नयाँ सदस्यता प्रक्रियाबारे जानकारी दिएका छन् । महासचिव कुँवरका अनुसार “सदस्यले बुझाएको ३० डलरमध्ये केही रकम परोपकारी कार्यका लागि सोसियल वेल्फेयर फन्डमा, केही रकम आईसीसीको लेभीका रुपमा र केही रकम नेपाली कम्युनिटी सेन्टर निर्माणमा योगदान पुर्याइनेछ।”

एनआरएन अष्ट्रेलियाले यसपटक आफ्नो सदस्य संख्या १४ हजारबाट २० हजार पु-याउने लक्ष्य राखेको छ। महासचिव कुँवरले यो अभियानलाई बलियो नेपाली डायस्पोरा निर्माणको दिशामा नेपाली समुदायका बीच एकता र विकासलाई प्रवर्धन गर्नु र अष्ट्रेलियामा नेपाली समुदायको उपस्थिति अझ सशक्त बनाउन महत्वपूर्ण कदमको रूपमा रहने बताएका छन्।

सदस्यता प्रक्रियालाई सहज बनाउन एनआरएन अष्ट्रेलियाले आईसीसीको एमआईएस सिष्टम मार्फत सदस्यता आवेदनको आह्वान गरेको छ। कुँवरले थपे, “एनआरएन अष्ट्रेलिया आफ्नै विधानअनुसार कार्य गर्दै आइरहेको छ र आगामी जुलाईमा अधिवेशन आयोजना गर्न तयार छ।”जुलाई २०२५ मा संस्था नयाँ नेतृत्व चयन गर्ने चुनाव प्रक्रिया पनि सञ्चालन गर्ने योजना बनाएको छ।