२०८२ बैशाख १५ सोमबार

एन्कालाई साउथ अष्ट्रेलियाबाट उत्कृष्ट एशोसियसन र महिला क्रिकेटमा योगदानको सम्मान

  • admin २०८१ फागुन २९ बिहीबार

एडिलेड,अष्ट्रेलिया। नेप्लिज क्रिकेट एशोसियसन (एन्का) लाई यस वर्ष साउथ अष्ट्रेलियन क्रिकेट एशोसियसन (साका) ले दुई महत्वपूर्ण सम्मान प्रदान गरेको छ। यस वर्ष एन्का साउथ अष्ट्रेलियाका ७० भन्दा बढी क्रिकेट एशोसियसनहरूमा उत्कृष्ट एशोसियसनको रूपमा चयन भएको हो, जुन विगत वर्षहरूमा मात्र मनोनयनमा पर्न सफल भएको थियो। यस वर्षको सम्मानसँगै एन्काले समुदायमा गरेको योगदानको कदर भएको छ।

एन्काका अध्यक्ष विजय जोशीलाई पनि १० वर्षसम्म अनवरत रूपमा क्रिकेटमा गरेको स्वयंसेवी सेवाका लागि विशेष सम्मान प्रदान गरिएको छ। जोशीले आफ्नो प्रतिक्रिया दिनुहुँदै भने, “यो सम्मान एन्का परिवारका सबै सदस्यहरूको कडा परिश्रमको परिणाम हो। यसले प्रवासमा रहेका खेलाडी, प्रशिक्षक, स्वयंसेवक, र सहयोगीहरूको योगदानलाई मान्यता दिएको छ र यो आगामी दिनमा थप काम गर्न प्रेरणा दिन्छ।”

साथै, एन्काले नेपाली समुदायका दोस्रो पुस्ता र अन्य समुदायका बालबालिकालाई समेटेर क्रिकेटको प्रशिक्षण र खेल कार्यक्रमहरूको आयोजनामा पनि महत्त्वपूर्ण योगदान दिएको छ। यस कार्यको कदर गर्दै एन्काले WOMEN’S & GIRLS INITIATIVE OF THE YEAR सम्मान पनि प्राप्त गरेको छ। एन्काले महिलाहरू र बालिकाहरूको क्रिकेट विकासमा महत्वपूर्ण कदम चालेको छ, जसको परिणाम स्वरूप एन्का सन्साईन टिमको निर्माण र प्रशिक्षणको कार्य जारी राखिएको छ।

साका द्वारा आयोजित एक विशेष कार्यक्रममा यी सम्मानहरू प्रदान गरिएको थियो, जसमा एन्का अध्यक्ष विजय जोशी, अन्य प्रतिनिधिहरू, र समुदायका सदस्यहरू उपस्थित थिए।

एन्का र यसको अध्यक्ष विजय जोशीको योगदानले साउथ अष्ट्रेलियामा नेपाली क्रिकेटको स्तरलाई नयाँ उचाइमा पुर्याएको छ। एन्काको यस सम्मानले प्रवासमा रहेका नेपालीहरूको लागि खेल र समुदायको महत्त्वपूर्ण अवसरहरू प्रदान गर्दै भविष्यमा थप प्रगति गर्न प्रोत्साहन दिएको छ।