२०८२ बैशाख १५ सोमबार

सिड्नीमा नेपथ्यको दोस्रो कन्सर्टको घोषणा

  • admin २०८१ फागुन ३० शुक्रबार

सिड्नी — नेपाली संगीतप्रेमीहरूका लागि खुसीको खबर! लोकप्रिय संगीत ब्यान्ड नेपथ्यले सिड्नीमा थप एक कन्सर्टको घोषणा गरेको छ।

नेपथ्यले यसअघि चैत १६ (मार्च २९) का लागि सिड्नीस्थित ‘होर्डन पभिलियन’ हलमा कन्सर्टको मिति तय गरेको थियो। तर, उक्त कन्सर्टका लागि तोकिएको साढे पाँच हजार टिकट निर्धारित मितिभन्दा तीन साताअगावै अनलाइनबाट नै बिक्री भइसकेपछि नेपथ्यले अर्को दिन चैत १७ (मार्च ३०) मा सोही स्थानमा दोस्रो शो थप गर्ने निर्णय गरेको हो।

अष्ट्रेलियामा सांगीतिक यात्रामा रहेको नेपथ्यले राजधानी क्यानबेराबाट आफ्नो शृंखलाबद्ध यात्रा थालेको थियो। हालसम्म पर्थमा दोस्रो सफल प्रस्तुति गरिसकेको नेपथ्यप्रति दर्शकको आकर्षण उच्च देखिएको छ।

सिड्नीमा नेपथ्यको प्रस्तुतिप्रति उल्लेख्य चासो र टिकटको अत्यधिक मागलाई ध्यानमा राख्दै स्थानीय आयोजक टीआरएन इभेन्ट्स र नेपथ्यको व्यवस्थापन संस्था नेपालयले दोस्रो शोको घोषणा गरेका हुन्।

नेपथ्यका चर्चित गीतहरू प्रत्यक्ष सुन्न र लाइभ प्रस्तुतिको अनुभव लिन उत्साहित दर्शकहरूका लागि यो दोस्रो कन्सर्टले थप अवसर प्रदान गर्नेछ।

अस्ट्रेलियामा नेपथ्यको शृंखलाबद्ध यात्राको टिकट ब्यान्डको आधिकारिक वेबसाइट www.nepathya.com.np बाट सोझै किन्न सकिन्छ ।