मेलबर्न, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलिया भिक्टोरिया राज्य संयोजन समितिको आयोजनामा २०२५ को नेपाल फेस्टिभल मेलबर्नमा भव्यतासाथ सम्पन्न भयो। यो महोत्सव केवल एक सांस्कृतिक कार्यक्रम मात्र होइन, नेपाली समुदायको अथक परिश्रम, समर्पण र मेलबर्नको सांस्कृतिक विविधतामा नेपालीहरूको योगदानको प्रमाण बन्यो।
नेपाल फेस्टिभलको सांस्कृतिक परेड बिहान साढे १० बजे भिक्टोरियाको स्टेट लाइब्रेरीबाट सुरु भएको थियो । परेडमा बलाराट र बेन्डिगोदेखि आएर सहभागी भएका थिए। परेडको विशेषता भनेको, विभिन्न संघसंस्थाले आफ्नो परम्परागत पोशाक र झाँकीहरू प्रस्तुत गर्दै करिब डेढ किलोमिटर लामो मार्गमा यात्रा गरे। सहभागीहरूले नेपाली सांस्कृतिक पोशाक जस्तै दौरा सुरुवाल, टोपी, साडी, चोलो, र परम्परागत गहना लगाएर कार्यक्रममा भाग लिएका थिए। यस परेडमा स्थानीयवासीहरू पनि चासोपूर्वक सहभागी भएका थिए, र अष्ट्रेलियन अतिथिहरूले यसको प्रशंसा गरे।
नेपाल फेस्टिभलको औपचारिक कार्यक्रमको प्रमुख आकर्षण भनेको भिक्टोरिया राज्यकी प्रिमियर जसिन्टा एलानको उपस्थिति थियो। यो मेलबर्नको नेपाल फेस्टिभलमा प्रिमियरको पहिलो पटकको उपस्थिति थियो। प्रिमियर एलानले नेपाली समुदायको भिक्टोरियाको समृद्धिमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै उनीहरूको योगदानको कदर गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रमको प्रारम्भ सांकृतिक झाँकी स्टेजसँगै भएको थियो। विभिन्न भाषा विद्यालयबाट सहभागी भएका १ सय ३० भन्दा बढी बालबालिकाले आफ्नो प्रस्तुति दिँदै नेपाली संस्कृति र कलाका विभिन्न पक्षहरू प्रस्तुत गरे। दर्शकहरूको उत्साह र सराहना यस्तो थियो कि त्यो दिनको माहोल अझै रमाइलो बन्यो।
अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले फेस्टिभललाई सम्बोधन गर्दै भनिन्, “यो भव्य कार्यक्रमका लागि एनआरएन अष्ट्रेलिया धन्यवादको पात्र हो। यस कार्यक्रमले नेपाली संस्कृति र भाषालाई प्रवर्द्धन गर्नको लागि सबैलाई प्रेरित गर्नेछ।”
कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अष्ट्रेलियामा नेपाली समुदायको अर्थतन्त्रमा योगदानको महत्वको चर्चा गर्दै भने, “नेपाली समुदायको योगदान करोडौं डलरमा छ, तर यो योगदान अझ बढी कदरको हकदार छ।” उनले एनआरएन अष्ट्रेलियाले मेलबर्नमा यस महोत्सवको आयोजना गर्नका लागि गरेको प्रयासलाई सबै संघसंस्थाको सहयोगको कदर गरे।
कार्यक्रममा अष्ट्रेलियाका संघीय सांसद पिटर खलिल, विपक्षी दलका उपनेता शाम ग्रोथ, भिक्टोरियाका सांसद र काउन्सिलरहरूले नेपाली समुदायको योगदान र कठिनाइमा अरूसँग सहयोग गर्ने हिम्मतको प्रशंसा गरेका थिए। उनीहरूले नेपाली समुदायको सांस्कृतिक विविधता र समर्पणलाई सम्मान गर्दै भिक्टोरियामा उनीहरूको महत्त्वपूर्ण स्थान र भूमिका पाएको बताएका थिए।कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, एनआरएन आईसीसीका उपाध्यक्ष विनोद श्रेष्ठ र ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेलले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा भिक्टोरियाका संयोजक मणिरत्न सापकोटाले उपस्थित सबैलाई स्वागत गरेका थिए।
कार्यक्रमको अन्त्यमा गायिका समिक्षा अधिकारी, गायक शिव परियार र विवेक श्रेष्ठ कन्दरा ब्यान्डको सांगीतिक प्रस्तुतीसँगै भएको थियो। यी कलाकारहरूले उपस्थित दर्शकलाई राति ९ बजेसम्म मस्त बनाए राखे।
मेलबर्नको नेपाल फेस्टिभल २०२५ मात्र एक सांस्कृतिक महोत्सव थिएन, यसले नेपाली समुदायको मेहनत र समर्पणलाई सम्मान गर्दै नेपाली कला र संस्कृतिको धरोहरलाई अष्ट्रेलियामा प्रस्तुत गरेको छ। यसले एकैपटक अस्ट्रेलियाको सांस्कृतिक विविधतामा नेपालीहरूको योगदान र भिक्टोरिया राज्यमा उनीहरूको भूमिका स्पष्ट पार्न मद्दत पुर्यायो।
तपाइँको प्रतिक्रीया