पर्थ,अष्ट्रेलिया — ओशियाना नेपाली स्पोर्ट्स मिट अन्तर्गत सम्पन्न क्रिकेट प्रतियोगिताको उपाधि यस वर्ष पनि साउथ अष्ट्रेलियाको प्रतिनिधित्व गर्ने एडिलेड नेपाली क्रिकेट एशोसिएसन (ANCA) अन्तर्गतको एन्का किङ्स ले जित्न सफल भएको छ।आइतवार पर्थमा सम्पन्न फाइनल खेलमा एन्का किङ्सले न्यू साउथ वेल्सबाट सहभागी क्यापेला न्यू साउथ वेल्स टिमलाई २१ रनले पराजित गर्दै गत वर्षको उपाधि रक्षा गरेको हो।
पहिले ब्याटिङ गर्दै एन्का किङ्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रनको चुनौती प्रस्तुत गरेको थियो। टिमका कप्तान सुनम गौतम ले उत्कृष्ट प्रदर्शन गर्दै ६२ बलमा १३ चौका र १ छक्काको मद्दतले ९४ रन बनाए। उनको यही शानदार प्रदर्शनले उनलाई प्लेयर अफ द म्याच घोषणा गरियो। अन्य ब्याट्सम्यानहरू मध्ये सुवास खकुरेल १६ बलमा १३ रन, गोविन्द कार्की १९ बलमा १५, संजय खत्री १० बलमा १० रन, मनिस खकुरेल ९ बलमा ५ रन, सुसन भारीले ४ बलमा नट आउट ९ रनको योगदान दिए।
बलिङतर्फ एन्काका तर्फबाट दिपक क्षेत्री र उपकप्तान अनिल खरेल ले समान ३-३ विकेट लिए। दिपकले विशेषत दुई खेलाडीलाई डक आउट गर्दै विपक्षीको सुरुवाती आक्रमणमा ठुलो धक्का दिएका थिए। सन्जय खत्री ले १ विकेट लिन सफल भए।
लक्ष्य पछ्याउने क्रममा क्यापेला न्यू साउथ वेल्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्रै बनाउन सक्यो। टिमका सुबास साह ले आक्रामक ब्याटिङ गर्दै ४१ बलमा ६४ रन बनाएका थिए भने आकाश पाठक ले १८, शिशिर थापा ले ११, आयुष जंग थापा ले १० रन जोडे। बलिङतर्फ क्यापेलाका अनुप ओली ले ३ विकेट, पियुष गौतम ले २ विकेट र क्षितिज बस्नेत ले १ विकेट लिए।
यस जितसँगै एन्का किङ्स ले दोस्रो पटक लगातार ओशियाना नेपाली स्पोर्ट्स मिटको क्रिकेट उपाधि जित्दै साउथ अष्ट्रेलियाको प्रतिनिधित्वमा गर्विलो इतिहास रचेको छ।
यस खेलले ओशियाना क्षेत्रमा रहेका नेपाली समुदायको एकता र खेलकुदमा बढ्दो सहभागितालाई पनि उजागर गरेको छ।
तपाइँको प्रतिक्रीया