सिड्नी अष्ट्रेलिया – अष्ट्रेलियाको संघीय संसद्को मे ३ मा हुने निर्वाचनका लागि नेपाली मूलका विनोद पौडेलले सांसद पदमा उम्मेदवारी दिएका छन्। प्रमुख विपक्षी दल लिबरल पार्टीको तर्फबाट उनी साउथ सिड्नीस्थित Macarthur (मकाथर) क्षेत्रका लागि प्रतिस्पर्धामा छन्। पौडेलको उम्मेदवारी नेपाली समुदाय मात्र नभई बहुसांस्कृतिक समाजका लागि पनि प्रेरणादायी बन्दै गएको छ।
चितवन,नेपाल स्थायी घर भएका विनोद पौडेल सन् २००७ मा अध्ययनका लागि अष्ट्रेलिया गएका थिए। उनले अष्ट्रेलियामा उच्च शिक्षा प्राप्त गरेपछि त्यहींको विभिन्न पेशा र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। विगत १५/१६ वर्षदेखि उनी अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन् र यसबीचमा उनले विभिन्न सामाजिक संघसंस्था तथा नेपाली समुदायसँग जोडिएर उल्लेखनीय कार्य गरेका छन्।
विनोद पौडेल एक सक्रिय सामाजिक अभियन्ताका साथै उत्प्रेरक वक्ताको रूपमा पनि चिनिन्छन्। उनले अष्ट्रेलियामा नेपाली युवाहरूको सशक्तीकरण, आप्रवासी समुदायका हकहित र सामाजिक सहकार्यका क्षेत्रमा निरन्तर क्रियाशीलता देखाउँदै आएका छन्। विविध कार्यक्रम, छलफल र सार्वजनिक मंचहरूमा उनको उपस्थितिले नेपाली समुदायमा मात्र होइन, अन्य आप्रवासी समुदायहरूमा समेत सकारात्मक प्रभाव पारेको छ।
पौडेलले सन् २०२२ मा पनि लिबरल पार्टीको तर्फबाट सोही मकाथर क्षेत्रबाट संघीय निर्वाचनमा उम्मेदवारी दिएका थिए। त्यतिबेला उनी नयाँ अनुहार भएकाले पनि अपेक्षित समर्थन पाउन सकेनन्, यद्यपि उनले ४१ प्रतिशत मत प्राप्त गरे। पहिलो पटकको सहभागितामा पनि उल्लेखनीय मत ल्याएका पौडेल यसपटक चुनावी मैदानमा अझ सशक्त र परिपक्व भएर उत्रिएका छन्।
हालैका सर्वेक्षण र स्थानीय समुदायमा फैलिएको उत्साहले यसपटक विनोद पौडेलको जितको सम्भावना बलियो देखिएको बताइएको छ। उनले आफू उम्मेदवार भएको क्षेत्रमा जनतासँग प्रत्यक्ष संवाद, घरदैलो, बहस कार्यक्रम तथा स्थानीय मुद्दामा ध्यान दिँदै प्रचार अभियानलाई तीव्र बनाएका छन्।
पार्टीका तर्फबाट पनि पौडेलको उम्मेदवारीलाई प्राथमिकता दिइएको छ। लिबरल पार्टीले मकाथर क्षेत्रमा निर्वाचन जित्नका लागि उनीमाथि विश्वास राख्दै पूर्ण समर्थन जनाइरहेको छ।
विनोद पौडेलको उम्मेदवारी नेपाली समुदायका लागि गर्वको विषय बनेको छ। अष्ट्रेलियामा आप्रवासी पृष्ठभूमिबाट राजनीतिमा सहभागिता जनाउनु चुनौतीपूर्ण मानिन्छ। यस्तो अवस्थामा एक नेपाली युवाले राष्ट्रिय राजनीतिमा प्रभाव जमाउँदै अघि बढ्नु, अन्य आप्रवासीलाई पनि प्रेरणा मिल्ने खालको उपलब्धि हो।
संघीय संसद्को निर्वाचन आउँदो मे ३ मा हुँदैछ, जसमा विनोद पौडेलले नेपालको प्रतिनिधिमूलक हैसियतमा अष्ट्रेलियाको राजनीतिमा सशक्त पहिचान बनाउने आशा गरिएको छ।
तपाइँको प्रतिक्रीया