२०८२ जेठ ७ मङ्गलबार

एडिलेडमा हुने भयो ७औं ओशियाना नेपाली स्पोर्ट्स मिट २०२७

  • admin २०८२ बैशाख १२ शुक्रबार

अष्ट्रेलिया — ओशियानाका नेपाली समुदायबीच ‘ओलम्पिक’ मानिने ओशियाना नेपाली स्पोर्ट्स मिट को ७औं संस्करण सन् २०२७ मा अष्ट्रेलियाको सांस्कृतिक र खेलकुदमैत्री शहर एडिलेडमा आयोजना हुने पक्का भएको छ। गत साता पश्चिम अष्ट्रेलियाको पर्थमा सम्पन्न ६औं स्पोर्ट्स मिटको समापन समारोहमा यो ऐतिहासिक घोषणा गरिएको हो।

यसपटकको प्रतियोगिता २०२७ मार्च २६ देखि २८ तारिखसम्म तीन दिनसम्म चल्नेछ। आयोजनाको जिम्मेवारी एडिलेड नेपाली क्रिकेट एसोसिएसनले पाएको छ, जसका अध्यक्ष विजय जोशी यस संस्करणका मुख्य आयोजकसमेत रहनेछन्।

अध्यक्ष जोशीका अनुसार, यो संस्करणमा क्रिकेट, फुटबल, भलिबल, लन टेनिस, टेबल टेनिस, बास्केटबल, ५ किलोमिटर दौड, गल्फ, पौडी र ब्याडमिन्टन गरी जम्मा १० खेलमा प्रतिस्पर्धा हुनेछ। उनले प्रारम्भिक तयारी सुरु भइसकेको जानकारी दिँदै, एडिलेड तथा समग्र साउथ अष्ट्रेलियामा क्रियाशील नेपाली संघ–संस्थासँग छलफल भइरहेको बताए।

“सिर्फ खेलकुद संस्था होइन, सम्पूर्ण नेपाली समुदायको सहकार्यमा यो महोत्सवलाई भव्य र ऐतिहासिक बनाउनेछौं,” जोशीले भने। उनले आयोजक शहरको हैसियतमा एडिलेडलाई प्रस्तुत गर्ने जिम्मेवारीलाई गर्वका साथ लिएको उल्लेख गरे।

स्पोर्ट्स मिटको सुरुवातदेखि नै साउथ अष्ट्रेलियाको तर्फबाट सक्रिय भूमिका निर्वाह गर्दै आएका सुपक अधिकारीले पनि एडिलेडमा आयोजना हुने ७औं संस्करण विशेष र स्मरणीय हुने बताए। “२०१६ देखि निरन्तर सहभागिता जनाउँदै आएको साउथ अष्ट्रेलियाले अब नेतृत्व पाएको छ,” उनले भने, “यो सबै नेपालीको उत्सव हो, हामी सबै मिलेर उत्कृष्ट बनाउनेछौं।”उनले मुल आयोजक टिमसँग परामर्श गर्दै स्थानीय आवश्यकता अनुसार थप खेलहरू समावेश गर्ने सम्भावनाबारे पनि संकेत गरे।

पर्थमा सम्पन्न समापन समारोहमा एडिलेड प्रतिनिधिमण्डलले अष्ट्रेलियाका विभिन्न राज्यहरू र न्युजिल्याण्डबाट आएका संयोजकहरूलाई औपचारिक रुपमा ७औं स्पोर्ट्स मिटमा सहभागिताको निमन्त्रणा पनि प्रदान गरेको थियो। यो घोषणासँगै साउथ अष्ट्रेलियाली नेपाली समुदायमा उत्साह र खेल सफल बनाउने प्रेरणा जागेको छ। एडिलेड अब केवल सुन्दर शहर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको नेपाली खेलकुद महोत्सवको केन्द्र पनि बन्नेछ।