अष्ट्रेलिया-अष्ट्रेलियाको हालै सम्पन्न आम निर्वाचनमा एन्थोनी अल्बनीजी नेतृत्वको लेबर पार्टी पुनः सत्तामा फर्किएको छ। नयाँ सरकारको नीति र घोषणाहरुले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय र यहाँ आउन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रत्यक्ष असर पार्ने देखिएको छ।

सबैभन्दा पहिला, Age Care क्षेत्रमा काम गर्ने हजारौं कामदारहरूको हितमा सरकारले ६० हजार कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको छ। यो निर्णयले नेपाली समुदायका धेरै सदस्यलाई प्रत्यक्ष लाभ पुर्याउनेछ, किनभने यो क्षेत्र नेपालीहरूको रोजाइमा परेको प्रमुख रोजगारी क्षेत्र हो।
त्यस्तै, कर नीतिमा पनि ठूलो परिवर्तन ल्याउने तयारी गरिएको छ। अबदेखि Tax तिर्दा १ हजार डलरसम्मको खर्च घटाउने व्यवस्था हुनेछ,भने २०२७ सम्म कर दर घटाएर १४ प्रतिशतमा झारिने लक्ष्य राखिएको छ। यसले मध्यम वर्गीय परिवारको आर्थिक बोझ कम गर्ने विश्वास गरिएको छ।
ऊर्जा लागत घटाउने उद्देश्यले, सरकारले यो वर्षको अन्त्यसम्म प्रत्येक घरलाई १ सय ५० डलरको बिजुली रिबेट दिने घोषणा गरेको छ। यो राहत योजनाले विशेषगरी विद्यार्थी, भाडामा बस्ने परिवारहरू र कम आय भएका व्यक्तिहरूलाई सघाउनेछ।
तर, सम्पत्तिसम्बन्धी क्षेत्रमा भने केही कडाइ गरिएको छ। अबको दुई वर्षसम्म विदेशी नागरिक र अस्थायी भिषामा रहेकाहरूलाई तयारी घर (existing home) किन्न रोक लगाइने निर्णय गरिएको छ। यसले घरको मूल्यमा दबाब घटाउने र अष्ट्रेलियामा दीर्घकालीन बसोबास गर्ने व्यक्तिहरूलाई घर किन्ने अवसर बढाउने सरकारको उद्देश्य छ।
अन्ततः अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सकारात्मक खबर छ – लेबर सरकार हरेक वर्ष २ लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया ल्याउने तयारीमा छ। यो नीतिले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया अध्ययनका लागि आउने अवसर थप खुला बनाउने छ। समग्रमा नयाँ सरकारको नीति नेपालीहरूका लागि सहयोगी देखिएको छ।

तपाइँको प्रतिक्रीया