एडिलेड – नेप्लिज क्रिकेट एशोसिएसन अफ अष्ट्रेलिया (एन्का)ले हालै सम्पन्न ओशियाना नेप्लिज स्पोर्ट्स मिट्स २०२५ मा शानदार प्रदर्शन गर्दै उपाधि जितेका क्रिकेट खेलाडीहरूलाई सम्मान गर्दै विजयी उत्सव आयोजना गरेको छ।

पर्थमा भएको खेलकुद प्रतियोगितामा साउथ अष्ट्रेलियाको टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेपछि एडिलेडमा आयोजित विशेष कार्यक्रममार्फत यो उपलब्धिको उत्सव मनाइएको हो।
कार्यक्रममा एन्का अध्यक्ष विजय जोशीले सबै खेलाडीहरूलाई बधाई दिंदै आगामी ओशियाना स्पोर्ट्स २०२७ एडिलेडमा आयोजना हुने जानकारी दिए। उनले भने, “यो केवल जित होइन, साउथ अष्ट्रेलियाको खेलकुद संस्कृतिको प्रतिबिम्ब हो। २०२७ को खेल अवसर र चुनौती दुवै हो, जसलाई सबै नेपाली संघ-संस्थाको साथमा भव्य बनाउन सकिन्छ।”

कार्यक्रममा एन्का सल्लाहकार तथा नेप्लिज टेनिस क्लब अष्ट्रेलियाका उपाध्यक्ष नविन कडेलले पनि खेलाडीहरूलाई बधाई दिँदै नेपाली युवा खेलाडीहरूको समर्पण र मेहनतको खुलेर प्रशंसा गरे।

एन्काका पब्लिक अफिसर र खेलाडी दीपक क्षेत्रीले भने, “क्यानबेरा र पर्थमा लगातार जित हात परेको छ। अब हाम्रो लक्ष्य २०२७ मा एडिलेडमै अर्को जित हासिल गर्दै ह्याट्रिक पूरा गर्नु हो।”
कार्यक्रममा सहभागी खेलाडीहरूले आफ्नो अनुभव सुनाउँदै परिवारको साथ, एन्काको व्यवस्थापन, र स्थानीय समुदायको सहयोगप्रति आभार व्यक्त गरे।
विजेता खेलाडीहरूका परिवार, एन्का पदाधिकारी, सल्लाहकार, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा खेलकुद, एकता र उत्सवको मिश्रण झल्किएको थियो।
एन्काले यस उत्सवमार्फत खेलाडीहरूको सम्मान गर्नुका साथै नेपाली समुदायभित्रको एकता र खेलकुदको महत्वलाई पनि उजागर गरेको छ।








तपाइँको प्रतिक्रीया