एडिलेड, अष्ट्रेलिया – दक्षिण अष्ट्रेलियाको राजनीतिक क्षेत्रमै परिचित र अनुभवी नेतृ जिङ ली ले आफ्नो नयाँ राजनीतिक पार्टी “Jing Lee – Better Community” को औपचारिक घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै, सन् २०२६ मा हुने दक्षिण अष्ट्रेलियाको राज्य निर्वाचनको लागि माथिल्लो सदन (Legislative Council) बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन्। यो नयाँ अध्याय उनले “Putting Community First” भन्ने नारासहित सुरु गरेकी छन्, जसले समुदाय केन्द्रित, समावेशी र सेवा-आधारित नेतृत्वलाई प्रोत्साहन गर्ने स्पष्ट सन्देश दिन्छ।
जिङ ली : आप्रवासीबाट नेतृसम्मको यात्रा
जिङ लीको जीवन यात्रा प्रेरणादायक छ। सन् १९६७ मा मलेसियामा जन्मिएकी ली सन् १९७९ मा १२ वर्षको उमेरमा परिवारसँगै अष्ट्रेलिया आएकी थिइन्। पहिलो पुस्ताकी आप्रवासीका रूपमा दक्षिण अष्ट्रेलियालाई आफ्नो घर बनाउँदै उनले अध्ययन, व्यवसाय र समुदाय सेवामा सक्रिय भूमिका निर्वाह गरिन्। राजनीतिमा प्रवेश गर्नु अगाडि उनले Asia Pacific Business Council for Women को अध्यक्षका रूपमा महिलाहरूको नेतृत्व र सशक्तीकरणमा काम गरेकी थिइन्।
१५ वर्ष लामो राजनीतिक सेवा
सन् २०१० मा लिबरल पार्टीको तर्फबाट दक्षिण अष्ट्रेलियाको संसदको माथिल्लो सदनमा निर्वाचित भएपछि जिङ लीले आफ्नो राजनीतिक यात्रा सुरु गरिन्। उनी बहुसांस्कृतिक मामिला (Multicultural Affairs), पर्यटन, जस्ता महत्वपूर्ण क्षेत्रको स्याडो मन्त्री बनेर सक्रिय भूमिका निर्वाह गरिन्। उनले डिपुटी अपोजिसन लिडर को पदमा पनि सेवा दिएकी थिइन्।
उनको नेतृत्वमा दक्षिण अष्ट्रेलियाका विभिन्न भाषा, धर्म, र सांस्कृतिक पृष्ठभूमिका समुदायहरूसँग सरकारको सम्बन्ध मजबुत बन्यो। उनी १२ वर्षसम्म मल्टिकल्चरल अफेयर्स सम्हाल्ने दक्षिण अष्ट्रेलियाकी सबैभन्दा लामो समय सेवा दिने सांसद बन्न सफल भइन् ।
पार्टीबाट अलग भएर नयाँ यात्रा
सन् २०२५ को सुरुवातमा पार्टीभित्रको गुटबन्दी, प्रिसेलेक्सनमा गरिएको व्यवहार, र सांसदहरूसँगको आन्तरिक मतभेदका कारण जिङ लीले लिबरल पार्टीबाट राजीनामा दिइन्। उनी स्वतन्त्र सांसदका रूपमा सक्रिय रहिन् र यसै क्रममा समुदायको आवश्यकता, सहभागिता र समर्पणमा आधारित नयाँ राजनीतिक दिशा तय गर्ने निर्णय गरिन्।
उनको नयाँ पार्टी “Jing Lee – Better Community” अहिले दक्षिण अष्ट्रेलियाको निर्वाचन आयोगमा दर्ताको अन्तिम प्रक्रियामा रहेको छ। पार्टीको प्रमुख सन्देश भनेको जनताको प्रत्यक्ष आवाजलाई संसदसम्म पुर्याउने, राजनीति सेवा-केन्द्रित बनाउने हो।
नेपाली समुदायप्रति विशेष नाता
जिङ लीले अष्ट्रेलियामा रहेका नेपाली आप्रवासी समुदायसँग विशेष सम्बन्ध बनाएकी छन्। उनी नियमित रूपमा नेपाली समुदायका चाडपर्व, सांस्कृतिक कार्यक्रम, भाषा तथा शिक्षा प्रवर्द्धन अभियानहरूमा सहभागिता जनाउँदै आएकी छन्। नेपाली समुदायको नेतृत्वसँग सहकार्य गर्दै उनले विभिन्न सम्मान समारोह, अन्तरसंवाद कार्यक्रम, र स्थानीय कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाएकी छन्। उनको सहज व्यवहार, समावेशी सोच र जनप्रिय नेतृत्वशैलीले गर्दा नेपाली समुदायमा उनी अत्यन्त सम्मानित र लोकप्रिय छिन्।
सन् २०१६ मा जिङ लीले अष्ट्रेलियाली सांसदहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमण गरेकी थिइन्। पोखरा, चितवन र काठमाडौं उपत्यकाको भ्रमणपछि उनले नेपाललाई “सुरक्षित र सुन्दर पर्यटकीय गन्तव्य” भन्दै अष्ट्रेलियामा प्रचार गरेकी थिइन्। नेपालमा भूकम्पपछि पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा उनले नेपाल भ्रमण गरी अष्ट्रेलियाली नागरिकहरूलाई नेपाल घुम्न र सहयोग गर्न आह्वान गरेकी थिइन्। उक्त भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको थियो र उनले नेपालको आतिथ्यता, संस्कृतिको विविधता, र सम्भावनाको खुलेर प्रशंसा गरेकी थिइन्।
आगामी योजनाहरू र लक्ष्य
जिङ लीको नयाँ पार्टी “Jing Lee – Better Community” ले समावेशी नीति, समुदायसँगको प्रत्यक्ष संवाद, साना व्यवसायहरूको प्रवर्द्धन, र आप्रवासी समुदायको सशक्तीकरणलाई प्राथमिकता दिने बताइएको छ। पार्टी अब नीति दस्तावेज, घोषणापत्र र उम्मेदवार छनोटको तयारीमा जुटिरहेको छ।
जिङ लीको भनाइमा,“राजनीति मेरो लागि अवसर होइन, सेवा हो। म समुदायको आवाज सुन्ने र संसदसम्म पुर्याउने कामलाई निरन्तरता दिन चाहन्छु।”
अष्ट्रेलियाली राजनीतिमा आप्रवासीको रूपमा उदाएकी जिङ ली आज एक समर्पित नेतृको रूपमा नयाँ यात्राको सुरुवात गरिरहेकी छन्। उनको अनुभव, जनप्रतिनिधित्वको इतिहास, र बहुसांस्कृतिक समुदायप्रतिको लगावले “Jing Lee – Better Community” पार्टीलाई एउटा फरक राजनीतिक विकल्पका रूपमा स्थापित गर्न सक्छ।
हामी जिङ लीलाई उनको नयाँ राजनीतिक अभियानको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं। समावेशी, न्यायपूर्ण र समुदाय केन्द्रित नेतृत्वद्वारा दक्षिण अष्ट्रेलियाको समृद्ध भविष्य निर्माणमा उनको योगदान अझ सशक्त होस् भन्ने कामना गर्दछौं।
तपाइँको प्रतिक्रीया