२०८२ असार ३० सोमबार

‘सबैका लागि घर’ भन्ने सन्देशसहित सडकमै सुत्दै सहयोग संकलन

  • admin २०८२ असार ६ शुक्रबार

एडिलेड — साउथ अष्ट्रेलियाको राजधानी एडिलेडमा एक अनौठो दृश्य देखियो। दर्जनौं मुख्य कार्यकारी अधिकृतहरू (सीईओ) बिजुली बत्ती बालिएको ओभल अगाडिको वार मेमोरियल ड्राइभ सडकमा सुतिरहेका थिए। उनीहरू त्यहाँ फोहोरको बाकस, स्लिपिङ ब्याग र एउटा चिसो काठको चकटीमै रात बिताइरहेका थिए-न कुनै विशेष सेवा, न त सुविधाजनक सुत्न मिल्ने घुमाउरा ओछ्यान। तर उनीहरू त्यहाँ दया देखाउन होइन, घरवारविहीनको पीडामा एक रातका लागि आफूलाई राख्न, त्यो पीडालाई अनुभव गर्न आएका थिए।

यो दृश्य ‘CEO Sleepout’ नामक परोपकारी अभियान अन्तर्गत साकार भएको हो, जुन विगत १५ वर्षदेखि अष्ट्रेलियामा सामाजिक अभियानको रूपमा चल्दै आएको छ। सामाजिक सेवा संस्था विनिज (Vinnies) द्वारा सन् २००९ देखि सञ्चालनमा ल्याइएको यो कार्यक्रम घरविहीनहरूका लागि आवास, शिक्षा, स्वास्थ्य र पुनःस्थापनाका कार्यक्रमहरूमा सहयोग जुटाउने उद्देश्यले सञ्चालन हुँदै आएको छ।

यस वर्ष एडिलेडमा आयोजित कार्यक्रम विशेष बन्यो—किनभने यसमा १२५ जना भन्दा बढी वरिष्ठ कार्यकारीहरूको सहभागिता मात्र रहेन, एक रातमै झण्डै ७ लाख अष्ट्रेलियन डलर बराबरको सहयोग पनि संकलन भयो। यस्तो सहयोग रकमले साउथ अष्ट्रेलियामै सयौं घरवारविहीन व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा अष्ट्रेलियाको ठूला कम्पनीहरूका वरिष्ठ पदाधिकारीहरूको सहभागिता रहँदा, नेपाली समुदायका प्रतिनिधिहरूले पनि छुट्टै पहिचान देखाए। वुमरेङ इन्टरनेशनल एजुकेशन सर्भिसेस अष्ट्रेलिया का सीईओ आशिष वाग्ले यस अभियानमा लगातार चौथोपटक सहभागी भए। वाग्लेले यस पटकको अनुभवलाई पनि विशेष भने, “घर हुनु केवल भौतिक संरचना मात्र होइन, त्यो मानव अधिकारको आधार हो। हाम्रा अगाडि दैनिकजसो सयौं मानिस सडकमा रात बिताइरहेका छन्। म त्यस आवाजको प्रतिनिधित्व गर्न वर्षेनि यहाँ आइपुग्छु।”

यस अभियानमा अर्को नेपाली अनुहार थिए, लिभेबिलिटी केयर अष्ट्रेलिया का सीईओ तथा एडिलेड नेप्लिज क्रिकेट एशोसिएसन (एन्का) का सचिव सन्तोषजंग अधिकारी। उनी पनि पहिलो पटक सडकमै सुत्न तयार भए। उनको अनुभव थियो, “सडक चिसो थियो, रात लामो थियो, तर त्यो एक रातले जीवनभरको सम्झना बनायो। हामी जतिसुकै सुरक्षित छौं, समाजमा अझै पनि हजारौं मानिस जोखिममा छन् भन्ने कुरा बिर्सनु हुँदैन।”

कार्यक्रममा मित्सुबिशी मोटर्स अष्ट्रेलिया का कार्यकारी प्रमुख शॉन वेस्टकटदेखि लिएर विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी थिए। उनीहरूले सबैका लागि घर उपलब्ध गराउन व्यवसाय, सरकार र नागरिक समाजको सहकार्य जरुरी रहेको बताए।

‘CEO Sleepout’ ले सबैभन्दा कम मूल्यमा उच्च असर पार्ने सामाजिक कार्यक्रमहरूमा गनिन्छ। अभियानमार्फत उठाइएको रकम सिधा घरविहीन व्यक्तिहरूको सहयोगमा प्रयोग हुने भएकाले आम जनमानसको विश्वास पनि यसमा उच्च देखिन्छ। यसले घरविहीनता केवल व्यक्तिगत असफलता होइन, सामाजिक र संरचनात्मक समस्या हो भन्ने सन्देश दिन खोजेको छ।

एउटा रातको असहज अनुभवले जब देशभरका सयौं उच्चपदस्थ व्यक्ति सचेत बन्छन्, तब यो सन्देश लाखौं नागरिकसम्म पुग्न सक्छ। र यस्तो सन्देशसँगै जब नेपाली समुदायका प्रतिनिधिहरू अग्रपंक्तिमा देखिन्छन्, त्यो हाम्रो चेतनशीलता, सामाजिक उत्तरदायित्व र सहानुभूतिपूर्ण नेतृत्वको प्रमाण पनि बन्न जान्छ।