काठमाडौं, ७ असार । सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाले प्राप्त गरेको मतबाट झस्केकाहरुले आफूविरुद्ध षड्यन्त्र गरेको दाबी गरेको छन् ।
शनिबार रास्वपा स्थापना दिवसको अवसरमा कारागारबाट सन्देश जारी गर्दै लामिछानेले यस्तो बताएका हुन् । लामिछानेले आफूले बेथितिविरुद्ध आवाज उठाएको मूल्य तिरिरहेको बताउँदै यसबाट आफू विचलित नभएको बताएका छन् ।
लामिछानेले भनेका छन्, ‘वर्तमान व्यवस्था र संविधान मानेरै पुराना राजनीतिक दलभित्र रहेको विकृति विसंगति सम्बोधन गर्ने गरी हामीले नयाँ पार्टी बनायौँ । आज रास्वपा बिनाको प्रतिनिधिसभा कल्पना पनि गर्न सकिँदैन । जनताका होनहार छोराछोरीको संसदमा उपस्थिति, तिनको मेहनत र निष्ठाको राजनीतिलाई स्वीकार गर्न पनि यो देशका विद्वान विश्लेषकहरूलाई किन गाह्रो परेको हो, मैले बुझ्न सकेको छैन । देशको परिस्थितिलाई मूल्यांकन गर्दै लम्बेतान आर्टिकल लेख्न र विश्लेषण गर्न रवि लामिछानेलाई पनि नआउने होइन । तर, रवि लामिछानेले यस्ता विश्लेषणको प्रभाव देखिसकेको छ । मलाई यो देशको बेथितिको थप व्याख्या गर्नु छैन, बेथिति भत्काउनु छ । बेथितिका वाहकहरूलाई निवेदन दिएर वा अनुरोध गरेर यो देशमा थितिको शासन सुरू हुँदैन । यिनीहरूलाई लल्कारेर र धावा बोलेर मात्र थिति बसाल्न सकिन्छ । यिनीहरूलाई चुनौती दिएको मूल्य अहिले मैले तिरिरहेको छु । तर, म विचलित छैन । यो आँट र संकल्प भत्काउन यो देशको इतिहासका सबैभन्दा ठूला ठगहरूले उल्टै मलाई ठग सावित गर्ने षड्यन्त्र गरिरहेका छन् । तर, म अलिकति पनि हल्लिएको छैन ।’
लामिछानेले आफूहरु सरकारमा जाँदा आफ्ना कुनै पनि मन्त्रीविरुद्ध प्रश्न नउठेको उल्लेख गर्दै नातावाद, कृपावाद वा अनियमितताको एउटै आरोप नखेपी सत्ताबाट फर्केको नेपालमा कुन दल छ ? भन्दै प्रश्न गरेका छन् । उनले आफूहरु सत्तालोलुप नरहेको बताउँदै भनेका छन् ‘एकाथरी आलोचकहरु मलाई सत्तालोलुपको आरोप लगाउँछन् । म तिनलाई यत्ति भन्छु, रवि लामिछानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो । हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो । अवसर आयो, होइदिउँ न भनेको भए कसले रोक्थ्यो र ? प्रधानमन्त्री बनिदेउ भनेर मध्यरातसम्म मेरै हस्ताक्षर कुरेर बसेको थियो कांग्रेसको मूल नेतृत्व, मैले मानिनँ । भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठग भन्न थाले । मेरो प्रश्न छ, किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेर त्यसैको दण्डस्वरूप आज थुना व्यहोरिरहेको मान्छे सत्तालोलुप हो कि विद्रोही ?’
लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । जेलबाटै लामिछानेले सन्देश तयार पारेर पठाएको उनको सचिवालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया