२०८२ कातिर्क ३० शनिवार

ब्रिस्बेन ज्वेलरी पसल लुटपाटमा संलग्न ६ जना पक्राउ, १ फरार

  • admin २०८२ श्रावाण २ बिहीबार

ब्रिस्बेन,अष्ट्रेलिया – ब्रिस्बेनस्थित चर्मसाइडको एक ज्वेलरी पसलमा पाँच हप्ता अघि भएको सशस्त्र लुटपाट घटनामा संलग्न समूहका १६ वर्षीय किशोरसहित ६ जनालाई क्वीन्सल्याण्ड प्रहरीले पक्राउ गरेको छ।

जुन १० तारिख साँझ ५ बजे जिम्पी रोडस्थित पसलमा अनुहार छोपेर आएका लुटेराहरूले शोकेस फुटाउँदै लाखौं डलर बराबरको गरगहना लुटेका थिए। पसलधनी र उनकी श्रीमतीलाई धम्क्याइएको थियो भने पुरुष धनीको टाउकोमा हतौडाले प्रहार गरिएको थियो। लुटपछि समूह चोरीको शंका गरिएको Honda CR-V गाडीमा भागेका थिए।

प्रहरीले पछिल्ला दिनहरूमा ब्रिस्बेनका विभिन्न क्षेत्रहरूमा खोजतलास र खानतलासी गर्दै लुटपाटमा प्रयोग भएका सामग्रीहरू बरामद गरेको जनाएको छ। मंगलबार २५ वर्षीय कार्सेलडाइन निवासी, २२ वर्षीय गुड्ना निवासीसहित अन्य तीनजना र एक किशोर पक्राउ परेका हुन्। उनीहरूलाई गम्भीर शारीरिक क्षति प्रयास, हतियारसहितको लुटपाट, चोरीको गाडी प्रयोग, बालबालिकालाई जोखिममा पार्ने लगायत अभियोगमा मुद्दा दायर गरिएको छ। सबै अभियुक्तलाई बुधबार ब्रिस्बेन म्याजिस्ट्रेट अदालतमा पेश गरिएको छ।

हाल प्रहरी Mount Gravatt क्षेत्रका २१ वर्षीय एक फरार लुटेराको खोजीमार रहेको जनाइएको छ, जो प्रायः लोगन र इनाला क्षेत्रमा देखिने गरेको बताइएको छ।

यस घटनापछि अष्ट्रेलियाभर रहेका नेपाली व्यवसायीहरू, विशेषगरी सुनचाँदी व्यवसायीहरू, बीच भय र असुरक्षा बढेको छ। लगातार ज्वेलरी पसलहरू लक्षित गरी भइरहेको आक्रमण र लुटपाटले व्यवसाय सञ्चालन नै चुनौतीपूर्ण बन्दै गएको भन्दै नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

यसै सन्दर्भमा, NRNA क्वीन्सल्याण्ड को नेतृत्वमा एक प्रतिनिधिमण्डलले क्वीन्सल्याण्ड राज्यका प्रिमियरलाई भेटी सुरक्षा स्थितिप्रति ध्यानाकर्षण गराएको थियो। प्रतिनिधिमण्डलले व्यवसायीहरू सुरक्षित महसुस गर्न सक्ने वातावरण सिर्जना गर्न र प्रहरी गस्ती तथा निगरानी बढाउन माग गरेका थिए।

अनुसन्धानकर्ताहरूले चर्मसाइड लुटपाटसँगै गत महिना लुटवाइचे मा भएको अर्को घटनाबीच सम्बन्ध हुनसक्ने आशंका गरिरहेका छन्।