२०८२ माघ ५ आइतबार

डब्बो नेप्लिज कम्युनिटी अस्ट्रेलिया (DNCA) को १०औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा राज खरेलसहित नयाँ नेतृत्व चयन

  • admin २०८२ मंसिर २३ सोमबार

डब्बो, अस्ट्रेलिया / डब्बो नेप्लिज कम्युनिटी अस्ट्रेलिया (DNCA) ले शनिबार, ६ डिसेम्बर २०२५ मा आफ्नो १०औं वार्षिक साधारणसभा (AGM) सफलतापूर्वक सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। उत्साह, एकता र सकारात्मक ऊर्जा बीच सम्पन्न सभामा डब्बोस्थित नेपाली समुदायको उल्लेखनीय सहभागिता रह्यो।

साधारणसभाले राज खरेललाई अध्यक्ष, भुवन लम्साललाई उपाध्यक्ष, शैलेन्द्र थापालाई सचिव, अग्रिता श्रेष्ठलाई कोषाध्यक्ष र अस्मिता घिमिरेलाई नानी बाबु पाठशालाको प्रिन्सिपल को जिम्मेवारी प्रदान गरेको छ। नयाँ कार्यसमितिमा ३८ जना सदस्यहरूको मनोनयन भएको छ, जसले डब्बोमा नेपाली समुदायको सक्रियता, संरचना र सहभागिता क्रमशः सुदृढ हुँदै गएको संकेत गरेको DNCA ले जनाएको छ।

कार्यक्रमका निर्वाचन अधिकृत तथा संस्थाका सम्मानित सल्लाहकार रमेश शर्मा प्रति DNCA ले विशेष आभार व्यक्त गरेको छ। उनले निर्वाचन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र सौहार्दपूर्ण ढङ्गले सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साधारणसभामा उपस्थित भई कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सहभागीहरूलाई समेत संस्थाले धन्यवाद व्यक्त गरेको छ।

संगठनले डब्बोमा बसोबास गर्ने नेपाली समुदायलाई एक ठाउँमा ल्याई नेपाली भाषा, संस्कृति, सभ्यता र पहिचानको संरक्षण र प्रवर्द्धनमा अग्रसर रहँदै आएका पूर्व अध्यक्ष, पूर्व पदाधिकारी तथा पूर्व समिति सदस्यहरू प्रती आभार व्यक्त गरेको छ। विशेषगरी सन् २०२३/२५ को कार्यकालका निवर्तमान अध्यक्ष राजीव भट्टराई र उनको टोलीले समुदायका लागि गरेको समर्पण, विभिन्न सफल कार्यक्रमहरूको सफल नेतृत्व र संस्थालाई आजको अवस्थामा पुर्‍याउन खेलेको भूमिकाको उच्च प्रशंसा गरिएको छ।

स्थापना कालदेखि नै DNCA डब्बोस्थित नेपाली समुदायलाई एकजुट गर्दै विभिन्न नेपाली चाड–पर्व तथा सांस्कृतिक अवसरमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। नयाँ पुस्तालाई नेपाली संस्कृतिको बोध गराउने, समुदायबीच सहकार्य र भाइचारा बढाउने, तथा नेपाली पहिचानलाई उजागर गर्ने कार्यमा संस्थाले निरन्तरता दिने जनाएको छ।

सभाले नव–निर्वाचित अध्यक्ष राज खरेल तथा सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै उनीहरूको नेतृत्वमा संस्था अझै प्रभावकारी, समावेशी र ऊर्जा–पूर्ण बन्ने विश्वास व्यक्त गरेको छ।