२०८२ माघ ५ आइतबार

मेलबर्नको उत्तरी क्षेत्रमा नेपाली समुदायलाई स्थानीय परिषद्–सेवा र कानूनबारे एनआरएन भिक्टोरियाद्वारा जानकारीमूलक कार्यक्रम

  • admin २०८२ मंसिर २३ सोमबार

मेलबर्न, अष्ट्रेलिया — भिक्टोरिया राज्यको उत्तरी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई स्थानीय परिषद् (काउन्सिल) का काम–कारबाही, सेवा–सुविधा र कानूनबारे विस्तृत जानकारी दिने उद्देश्यसहित एनआरएनए भिक्टोरियाले ह्युम सिटी काउन्सिलको सहकार्यमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ। क्रेगीबर्न, ब्रोडमेडोज, डलास, कालकलो, डोनीब्रुकलगायत नेपालीहरूको घनत्व रहेको क्षेत्रमा आयोजित कार्यक्रममा २५ भन्दा बढी सहभागीहरूको उपस्थिति थियो।

कार्यक्रममा विज्ञ तथा स्थानीय सरोकारवाला व्यक्तिहरूले ह्युम सिटी काउन्सिलमार्फत पाइने सुविधाहरू, स्थानीय कानून तथा नियमहरूको पालनाबारे आवश्यक जानकारी प्रस्तुत गरे। आपतकालीन सेवाहरू कसरी प्रयोग गर्ने, प्रहरीसँग सहकार्य र सम्पर्क कसरी राख्ने, समुदायले काउन्सिलमार्फत पाउन सक्ने सुविधा तथा अधिकारबारे पनि सहभागीहरूलाई विस्तृत रूपमा अवगत गराइयो। सहभागीहरूले आफ्ना जिज्ञासा राख्न पाएका कारण कार्यक्रम अझ उपयोगी र अन्तरक्रियात्मक बनेको थियो।

कार्यक्रमको संयोजन नारी निकुञ्ज भिक्टोरियाकी उपसंयोजक ललिसा थापाले गरेकी थिइन् भने एनआरएनए भिक्टोरिया संयोजक महादेव धानुकले सहजीकरण गरेका थिए। क्रेगीबर्न नेपाली समाजका अध्यक्ष सुजन शर्मा र उपाध्यक्ष पुष्पा क्षेत्रीले पनि समुदायका प्रतिनिधिका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै सहभागीहरूको जिज्ञासाको समाधानमा सहयोग गरेका थिए।

अष्ट्रेलियामा स्थानीय नियम तथा सरकारी सेवाबारे पर्याप्त जानकारी नहुँदा नेपालीहरू वर्षेनी चुनौतीपूर्ण परिस्थितिमा पर्ने गरेको पृष्ठभूमिमा यस कार्यक्रमलाई समुदायले निकै महत्वपूर्ण पहलका रूपमा लिएको छ। सही जानकारी नहुँदा सरकारी सेवा–सुविधाबाट विमुख हुनुपर्ने, आपतकालीन अवस्थामा ढिलो प्रतिक्रिया हुने तथा कानूनबारे अनविज्ञताका कारण जोखिममा पर्नुपर्ने समस्या दोहोरिँदै आएको उल्लेख गर्दै सहभागीहरूले यस्ता कार्यक्रम अझै धेरै क्षेत्रमा विस्तार गर्न आग्रह गरेका छन्।

एनआरएनए भिक्टोरियाले ह्युम सिटी काउन्सिलबाट सुरु गरिएको यो अभियानलाई अन्य काउन्सिल क्षेत्रमा पनि लैजाने तयारी भइरहेको जनाएको छ। विशेषत: विद्यार्थी र युवाहरू बढी बसोबास गर्ने क्षेत्रमा लक्षित कार्यक्रम आवश्यक रहेको सुझाव बैठकमा राखिएको छ। समुदायलाई स्थानीय संरचना, राज्यका नियम, सेवा–सुविधा र अधिकारसँग जोड्ने उद्देश्यका साथ सुरु गरिएको यो कार्यक्रम मेलबर्नस्थित नेपाली समुदायका लागि सहयोगी र मार्गदर्शक पहलका रूपमा सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले बताएका छन्।