अस्ट्रेलिया / अस्ट्रेलियामा अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले आजदेखि सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन् । प्रधानमन्त्री एन्टोनी अल्बानीजले यो कदमले बालबालिकालाई सुरक्षित र स्वस्थ वातावरणमा हुर्किन मद्दत गर्ने बताएका छन् ।
सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई १६ वर्ष मुनिका बालबालिकाले खाता खोल्न नदिने व्यवस्था गर्न भनेको छ । हाल फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट जस्ता १० वटा सञ्जालमा यो नियम लागू हुनेछ ।
प्रधानमन्त्रीले भने,“आजका बालबालिका मोबाइल र सामाजिक सञ्जालका धेरै प्रभावमा हुने भएकाले उनीहरूलाई केही राहत दिने उद्देश्यले यो निर्णय गरिएको हो ।” यदि नियम तोडियो भने बालबालिका वा अभिभावकले कुनै सजाय पाउने छैनन् । जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीकै हुनेछ । नियम बारम्बार नमान्ने कम्पनीलाई ठूलो जरिबाना लाग्नेछ। सरकारले उमेर पत्ता लगाउने प्रविधि पूर्ण रूपमा काम गर्न केही समय लाग्न सक्ने बताएको छ ।
अस्ट्रेलियाली सरकारको यस निर्णयले विश्वव्यापी रूपमा बहस छेडेको छ । केही अधिकारवादीहरूले यसलाई युवाविरुद्धको अन्याय भनेका छन् भने केहीले यस निर्णयको प्रशंसा गरेका छन् । सन् २०२४ को नोभेम्बरमा, अस्ट्रेलियाली संसदमा एक कानून पारित भएको थियो । यसले अस्ट्रेलियाली अनलाइन सुरक्षा ऐन, २०२१ लाई संशोधन ग¥यो र १६ वर्ष मुनिका बालबालिकाहरूले सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरियो ।
अस्ट्रेलियाली लेबर पार्टी सरकारले किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन प्रतिबन्ध लगाउने निर्णय लिइएको बताएको छ । प्रधानमन्त्री अल्बानीजले बालबालिका र किशोरकिशोरीहरूको सन्दर्भमा अस्ट्रेलिया उनीहरूको अधिकारको रक्षा गर्न अग्रपंक्तिमा रहने कुरा पटक पटक बताउँदै आएका छन् ।
सरकारको यो कदमलाई अनलाइन पोलमा ७७ प्रतिशत समर्थन प्राप्त भएको थियो । यद्यपि, केही विज्ञहरू भन्छन् कि सरकार यस्ता प्रतिबन्धहरू लागू गर्न हतार गरिरहेको छ ।

तपाइँको प्रतिक्रीया