२०८२ माघ ५ आइतबार

अन्तर्राष्ट्रिय टोपी दिवस २०२६: एडिलेडमा भव्य पदयात्रा र राष्ट्रिय खेलाडी सम्मान गरिँदै

  • admin २०८२ मंसिर २७ शुक्रबार

एडिलेड,अस्ट्रेलिया — प्रवासी नेपाली मञ्च (ओएनएफ) साउथ अष्ट्रेलियाले नयाँ वर्ष २०२६ तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा पदयात्रा तथा सम्मान कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ। नेपाली पहिचान, सांस्कृतिक विविधता र समुदायबीचको एकता प्रदर्शन गर्ने उद्देश्यसहित मञ्चले एडिलेडमा यो वर्ष विशेष कार्यक्रम गर्ने तयारी पूरा भएको जनाएको छ।

मञ्चका अध्यक्ष चन्द्र कुवर का अनुसार २०२६ जनवरी १ मा आयोजना हुने वार्षिक पदयात्रा एडिलेडको जोन मिलर रिजर्भ बाट सुरु भई समुद्र तटीय गन्तव्य ग्लेनेल सम्म पुग्नेछ र त्यही बाटो हुँदै पुनः जोन मिलर रिजर्भमै फर्केर समापन गरिनेछ। पदयात्रा साँझ ५ बजेबाट प्रारम्भ हुनेछ। अध्यक्ष कुवरले भने, “टोपी हाम्रो राष्ट्रिय पहिचान हो। यसै पहिचानसहित एडिलेडको पर्यटकीय क्षेत्र हुँदै पदयात्रा गर्नु सन्देशमूलक मात्र होइन, गौरवान्वित महसुस गराउने प्रयास पनि हो।”

यस वर्षको कार्यक्रम संयोजक हेम खनालले अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्तालाई नेपालको मौलिक संस्कृति र पहिचानसँग नजिक गराउनु प्रमुख उद्देश्य रहेको बताए। उनले सम्भव भएसम्म बालबालिकासहित पदयात्रामा सहभागी हुन तथा नेपाली राष्ट्रिय पोशाकधारी उपस्थितिलाई प्राथमिकता दिन आग्रह गरे। खनालले भने, “टोपी दिवसले हाम्रो मौलिकता बोल्छ। यसलाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउन पदयात्रा प्रभावकारी माध्यम बनेको छ।”

नेपाली संस्कृतिको पहिचानसहित समुदाय एकतामा जोड दिने उद्देश्यमा आयोजना हुने यो कार्यक्रम एडिलेडमा नौौँ संस्करणका रूपमा मनाइँदैछ। पदयात्रापछि आयोजना हुने विशेष कार्यक्रममा नेपाल सरकार राष्ट्रिय खेलकुद परिषद् (NSC) वा मान्यता प्राप्त खेल संघमार्फत राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका वर्तमान तथा पूर्व खेलाडीहरू, जो हाल साउथ अष्ट्रेलियामा बसोबास गर्दै आएका छन्,खेलाडीहरू लाई विशेष रूपमा सम्मान गरिने आयोजकले जनाएको छ। यसअघि मञ्चले साउथ अष्ट्रेलियामा रहेर पीएचडी हासिल गरेका नेपाली डाक्टरहरूलाई सम्मान गरेको थियो, जसले समुदायभित्र प्रतिभा र योगदानको कदर गर्ने यस संस्थाको निरन्तरता झल्काउँछ।

सम्मानका लागि २०२५ डिसेम्बर १५ भित्र अनलाइन फारम भर्न वा आवश्यक विवरण उपलब्ध गराउन आयोजकले आग्रह गरेको छ।नेपाललाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउने, नेपाली पर्यटन तथा संस्कृति प्रवर्द्धन गर्ने र बहुसांस्कृतिक सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यसहित यो पदयात्रा आयोजना गरिएको हो।आयोजक संस्थाले साउथ अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस पदयात्रामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निम्तो गरेको छ।