एडिलेड, अष्ट्रेलिया — नेपाली कला, संस्कृति र समुदायलाई निरन्तर जोड्दै आएको SK Events & Entertainment ले आफ्नो तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। सु लोभ उपाध्याय र कमल थापा मगरको नेतृत्वमा चलिरहेको संस्थाले यस विशेष अवसरमा आफ्ना विज्ञापनदाता,कलाकार,पत्रकार तथा स्वयंसेवक र समुदायलाई एकत्रित गर्दै सफल तीन वर्षको यात्रालाई उत्साहपूर्वक मनायो।

कार्यक्रममा अघिल्ला वर्षहरूमा सम्पन्न भएका सांस्कृतिक कार्यक्रमहरूको पुनरावलोकन, आगामी योजनाहरूको संकेत तथा समुदायप्रति कृतज्ञता प्रकट गरिएको थियो। एडिलेडमा बसोबास गर्ने नेपाली र गैर–नेपाली दुवै समुदायलाई सांस्कृतिक रूपमा जोड्दै, मनोरञ्जन र पहिचानलाई एउटै मञ्चमा ल्याउने लक्ष्यसहित अघि बढेको SK Events अहिले नेपाली समुदायमा एक विश्वसनीय र सक्रिय इभेन्ट संस्थाका रूपमा स्थापित भइसकेको छ।
वार्षिकोत्सव कार्यक्रममा डाइरेक्टर कमल थापा मगर ले आफ्नो भावना व्यक्त गर्दै भने—“तीन वर्षको छोटो समयमा हामीले धेरै कुरा सिक्यौं, अनुभव गर्यौं र समुदायसँग नजिक भइ अघि बढ्यौं। हाम्रो उद्देश्य केवल कार्यक्रम गर्नु मात्र होइन, एडिलेडमा बस्ने नेपाली समुदायलाई एकअर्कासँग जोड्ने, नेपाली संस्कृति जोगाउने र नयाँ पुस्तामा आफ्नो पहिचानप्रति गर्व बढाउने हो। यो यात्रालाई यहाँसम्म ल्याउन योगदान दिने हरेक व्यक्तिलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं। आगामी दिनमा अझै प्रभावशाली र प्रेरणादायी कार्यक्रमहरू लिएर आउनेछौं।”
स्थापना कालदेखि नै SK Events ले कन्सर्ट, सांस्कृतिक उत्सव, डान्स नाइटदेखि सामाजिक तथा मनोरञ्जनात्मक कार्यक्रमसम्म विविध गतिविधि गर्दै आएको छ। संस्थाले आफ्नो मूलभाव सांस्कृतिक गर्व, समुदायको एकता, उत्कृष्ट सेवा र युवाहरूको सशक्तीकरण लाई अझ मजबुत बनाउँदै नेपाली तथा गैर नेपाली दुवै समुदायलाई एउटै संस्कृतिक साझेदारीमा जोडिरहेको छ।
तेस्रो वर्ष पूरा गर्दै SK Events & Entertainment ले आगामी दिनहरूमा अझ स्तरीय कार्यक्रम, नयाँ सिर्जनशीलता र समुदायलाई प्रेरित गर्ने गतिविधि ल्याउने संकल्प गरेको छ।


तपाइँको प्रतिक्रीया