एडिलेड/ दक्षिण अस्ट्रेलियाको एडिलेडमा अन्तर्राष्ट्रिय नारी दिवस २०२६ विशेष र सशक्त सन्देशसहित मनाइने भएको छ। गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अस्ट्रेलियाको नारी निकुञ्जले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस “Healthy Relationships and Strong Communities” अर्थात् ‘स्वस्थ सम्बन्ध, सबल समुदाय’ भन्ने मूल नारासहित मनाउन लागेको हो।
आगामी १२ मार्च २०२६, साँझ ४:३० बजे 49A Orsmond Street, Hindmarsh SA 5007 मा आयोजना हुने उक्त कार्यक्रममा दक्षिण अस्ट्रेलियामा बसोबास गर्ने नेपाली महिलाहरू मात्र नभई सम्पूर्ण समुदायलाई सहभागी हुन खुला निमन्त्रणा गरिएको छ।

कार्यक्रम नारी सशक्तिकरणको औपचारिक उत्सव मात्र नभई समुदायभित्र स्वस्थ सम्बन्ध निर्माण, पारिवारिक समन्वय, आपसी सम्मान र सामाजिक सहकार्यको संस्कार बलियो बनाउने साझा प्रयासका रूपमा अघि सारिएको छ। परिवार, समाज र समुदाय निर्माणमा महिलाले खेलेको नेतृत्वदायी भूमिका र योगदानलाई सम्मान गर्दै उनीहरूको अनुभव आदान–प्रदान, आत्मविश्वास अभिवृद्धि र नेतृत्व विकासलाई प्राथमिकतामा राखिने आयोजकले जनाएको छ।
यस विशेष कार्यक्रमलाई Peace Multicultural Services तथा Relationships Australia SA को सहकार्य प्राप्त भएको छ। बहुसांस्कृतिक समाजमा आपसी समझदारी, समावेशिता र सुदृढ सम्बन्ध निर्माणमा यी संस्थाहरूको अनुभव र सहकार्यले कार्यक्रमलाई अझ प्रभावकारी र जानकारीमूलक बनाउने विश्वास लिइएको छ।
नारी निकुञ्ज दक्षिण अस्ट्रेलियाकी संयोजक तारा चौधरीले समुदायलाई एकजुट भई महिलाको शक्ति, धैर्यता र योगदानको सम्मान गर्न आग्रह गरेकी छन्। “नारी दिवस उत्सवको मात्र दिन होइन, परिवर्तन र प्रतिबद्धताको दिन पनि हो,” उनले उल्लेख गर्दै सबैलाई उपस्थित भई साथ दिन अनुरोध गरेकी छन्।
अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर महिला अधिकार, समानता र सशक्तिकरणका मुद्दा उजागर गर्ने महत्वपूर्ण अवसरका रूपमा मनाइन्छ। एडिलेडमा आयोजना हुन लागेको यो कार्यक्रमले नेपाली समुदायभित्र एकता, सद्भाव र सामुदायिक मजबुतीकरणको सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
“Give to Gain” को सकारात्मक सन्देशसहित आयोजना हुन लागेको यस समारोहमा सहभागी भई एकआपसमा जोडिन, सिक्न र सशक्त बन्न सम्पूर्ण समुदायलाई हार्दिक आमन्त्रण गरिएको छ।


तपाइँको प्रतिक्रीया