काठमाडौं । राष्ट्रियसभा बैठकबाट ‘सामाजिक सञ्जाल विधेयक २०८१’ फिर्ता भएको छ ।
सोमबार बसेको राष्ट्रियसभा बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उक्त विधेयक फिर्ता गर्ने निर्णयलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरिएको छ ।
यसअघि माघ २३ गते बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री अनिल सिन्हाले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
गत वर्ष माघ २७ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा उक्त विधेयक पेस गरेको थियो । तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको दुरुपयोग रोक्न र प्रभावकारी नियमनको कानुनी आधार तयार गर्ने उद्देश्यसहित माघ १५ मा संघीय संसद सचिवालयमा विधेयक दर्ता गराएका थिए ।
विधेयकमा सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन कायम राख्न आवश्यक व्यवस्थाहरू समेटिएको थियो ।
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका प्रावधानसहित कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पिच राख्न नपाइने, मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमोड गर्न नपाइने व्यवस्था गरिएको थियो ।
जरिवाना र जेल सजायसहितको प्रावधान विधेयकमा समेटिएको थियो ।
आजको बैठकले पर्यटन विधेयक २०८१ लाई पारित गरेको छ । त्यसअघि बैठकको प्रारम्भमा राष्ट्रियसभामा ६ वर्षे कार्यकाल सकिन लागेका सदस्यहरुले यस अवधिमा आफूले गरेका काम र अनुभव राखेका थिए ।
बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक माघ २८ गते बुधबार बोलाइएको छ ।

तपाइँको प्रतिक्रीया