२०८२ माघ २७ सोमबार

नेपालमा ९६.७ प्रतिशत घरपरिवारमा विद्युत्, गण्डकीमा करिब शतप्रतिशत

  • admin २०८२ माघ २७ सोमबार

काठमाडौं । नेपालका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ ले यो तथ्यांक देखाएको हो ।

जस अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा करिब शतप्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ । गण्डकीमा ९९.५ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर स्रोत उपलब्ध रहेको देखिएको छ ।

सबैभन्दा कम भने कर्णाली प्रदेशमा छ । जहाँ ८०.८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको सर्वेक्षणबाट देखिएको छ ।

सहर र ग्रामीण भेगको तुलना गर्दा सहरमा ९८.२ प्रतिशत घरमा निरन्तर विद्युत् सेवा पुगेको देखिन्छ । ग्रामीण भेगमा यो दर ९३.७ प्रतिशत छ ।

प्रदेश अनुसार कोशीमा ९७.२ प्रतिशत घरमा विद्युत् सेवा पुगेको छ । जहाँ शसहरी भेगमा ९८.८ प्रतिशत र ग्रामीण भेगमा ९७.२ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ । मधेसमा ९८ प्रतिशत हाराहारी भेगमा विद्युत् सेवा पुगेको छ ।

काठमाडौं उत्पकाकामा करिब शतप्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको तथ्यांकले देखाएको छ । कर्णालीको भने ग्रामीण भेगमा ७४.८ प्रतिशत घरपरिवारमा मात्र सेवा पुगेको छ । सुदूरपश्चिमको ७८.२ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको तथ्यांकले देखाएको छ ।

सर्वेक्षण अनुसार नेपालमा ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन (स्थिर टेलिफोन वा मोबाइल) सुविधा पुगेको छ । यसमा सबैभन्दा धेरै बागमती प्रदेशमा ९७.१ प्रतिशत घरपरिवारमा यो सुविधा पुगेको देखिन्छ । सबैभन्दा कम भने सुदूरपश्चिम प्रदेशमा ९२.६ प्रतिशत रहेको सर्वेक्षणको नतिजा छ ।

कार्यालयका अनुसार सर्वेक्षणमा तथ्यांक संकलन गर्न नेपालभरि ५ सय ४० क्लस्टर (गणना क्षेत्र) मध्ये सहरी क्षेत्रबाट ३ सय ४ र ग्रामीण क्षेत्रबाट २ सय ३६ क्लस्टर छानिएको थियो ।

हरेक क्लस्टरबाट २४ परिवार छनोट गरी तथ्यांक संकलन गरिएको थियो । यसरी छानिएका १२ हजार ९ सय ६० परिवारबाट पारिवारिक विवरण संकलन गरिएको थियो ।