काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनका कार्यकारी अध्यक्ष डा. बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकता लिएका छन् ।
कर्मथलो रुसलाई बनाउँद आएका बद्री केसी र युकेलाई कार्यथलो बनाएका कुल आचार्यले एनआरएन नागरिकता लिएका हुन् । लामोसमयदेखि एनआरएन नागरिकताको विषय उठान गर्दै आएकोमा ऐन र नियमावली जारी भएपछि नागरिकता वितरणको सुरुआत भएको हो ।
उनीहरु दुवैले आ आफ्नो गृह जिल्लामा प्रक्रिया पूरा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्य र केसीलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । आचार्यको गृहजिल्ला पर्वत हो भने बद्री केसीले काठमाडौंबाट यो नागरिकता ग्रहण गरेका हुन् ।
पर्वत र काठमाडौंका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेपछि आचार्य र केसीलाई हस्तान्तरण गरे ।
अब देशका ७७ वटै जिल्लाबाट एनआरएन नागरिकता वितरण हुने छ ।
कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नागरिकता एउटा कागजमात्रै होइन मुटुको टुक्रा नै भएको बताए । उनले आफूहरुले उठाउँदै आएको मुद्दालाई सम्बोधन गरिएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा एनआरएन नागरिकता प्राप्त गरेका अध्यक्ष आचार्यले नागरिकता लिन पाउँदा आफू भावुक भएका बताउँदै यो नागरिकताले नेपाल र नेपालीलाई जोड्ने बताए । देशको विकासका लागि विकासमा एनआरएन अझ बढी लाग्ने बताए ।
उनले भने मातृभूमीको गुण तिर्नका लागि सधैका लागि तयार छौं । मातृभूमीको माटो विदेशमा लगेर नबेच्न सबै एनआरएनलाई आग्रह पनि गरे ।
यस्तै, एनआरएनका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नागरिकता अभियानलाई सार्थक बनाउन पहल गर्ने सबैलाई धन्यवाद दिए । सवै राजनीतिक पार्टीहरु एक मत भएर नागरिकताको निरन्तरता गराएको थप धन्यवाद दिए ।
नागरिकता पेपर (कागज) मात्रै होइन यसले आफूहरुलाई थप अभिभारा बढाएको बताए । अब एनआरएन नागरिकता बंशजकै आधारमा हुनुपर्नेमा जोड पनि अध्यक्ष केसीले दिएका थिए ।


तपाइँको प्रतिक्रीया