२०८२ चैत १० मङ्गलबार

फिल्म समीक्षा- पशुपति प्रसाद २ः भष्मे डन

  • admin २०८० कातिर्क ४ शनिवार

संवादमै भनिएको हुन्छ, छ्या! कस्तो रुने पनि हाँस्ने पनि एकै पटक भयो । फिल्म पनि यहि संवाद जस्तै बनेको छ, कतै रुवाउने र फेरि रुवाउँदा रुवाउँदै हँसाउने ।

बिपत् नै फलिफाप भएको पात्र भष्मेलाई कोरोनाले लखपति बनायो । सम्झनुस् त, यसअघि पनि उ भुइँचालोका कारण बाँचेको पात्र हो नि !

फिल्म पशुपति प्रसादमा भष्मेको थोरै पृष्ठभुमि बताइएको थियो । मुगुमा जन्मिएको, बाउ आमाले संस्थालाई जिम्मा लगाएर पठाएको । संस्थाले पढाउन त बोर्डिङमै पढायो तर जेलमा जस्तै राख्यो । कतिपय साथीलाई खैरेले लग्यो, उ भने मासुभात खाएर भाग्ने तयारीमा थियो ।

त्यहि समयमा भुइँचालो गयो, र उ जिउँदै आर्यघाटमा आयो र बाँच्यो । फिल्मको कथा त्यहि पृष्ठभुमिबाट अगाडी बढेको छ ।
सात बर्षमा भष्मेको पात्र केहि कुराहरु परिवर्तन भएका छन् । पशुपति प्रसाद खकुरेलको मितबा अब उसले बा भएको छ । क्याण्डी क्रस खेल्ने उ अब पब्जी खेल्छ । बितेका यी सात बर्षमा भष्मेमा आएका परिवर्तन मज्जासँग देख्न सकिन्छ ।

लवारिस भन्ने शब्दका कारण अब उसलाई जसरी हुन्छ बाबुआमा भेट्नुछ । नागरिकता बनाउनुछ र आफै ठेक्कापट्टाको काम गर्नुछ ।
पशुपति प्रसादलाई देखिनसक्ने पात्र भष्मे डन । त्यहि भष्मे डन अहिले भुवन बहादुरको नाममा नागरिकता बनाउन दौडधुप गरिरहेको छ ।

पशुपति प्रसादको मृत्यु भएको सात बर्षपछि उसँग पंगा लिन आउने कालीप्रसाद उर्फ नागा (सौगात मल्ल) । देशमा भएको अस्पतालहरुको मनोमानी बिरुद्धको रिस पोख्न भष्मेसँग ठोकिएको पात्र आँखिर को होला ? एक सामान्य महिला मैना (स्वस्तिमा खड्का), माताजी बन्नुपर्दाको कथा के होला ? थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ ।

फिल्मको सबैभन्दा सशक्त पाटो हो, पात्र निर्माण । सबै पात्रहरु आ–आफ्नो चरित्रमा अब्बल छन् । सुरुमा भष्मेको पात्रबाट कुरा सुरु गरौं । पनि भष्मे पात्रले आफुलाई सात बर्षपछि पनि जिवित राखेको छ । भष्मेका अघिपछि डुल्ने साथीहरु सबै फिट छन् । उनिहरुले पात्रलाई न्याय गरेका छन् । भष्मेका बा बनेका प्रकाश घिमिरेको चरित्रले जतिखेरै दर्शकको ध्यान तान्न सफल छ ।

यहि फिल्बाट प्रवेश गरेका दुई पात्र माताजी उर्फ मैनाको भुमिका अभिनेत्री स्वस्तिमा खड्काकै लागि बनेको जस्तो लाग्छ । उनले बोल्नुअघि हे भन्ने तरिकाले मानव कम देवी ज्यादा सुनिन्छ । उनले आफ्नो चरित्रमा मिहेनत गरेकी छन् ।

उनको अनुहारमा पहेंलो र रातो रंग पोतिएको छ । अनुहारमा पेन्ट लगाउँदा फेसियल एक्सप्रेसन देखाउन सक्नु निकै चुनौतीको काम हो । स्वस्तिमाले आँखाबाट उनको मनोभाव बुझाएकी छन् । त्यसो त, मैना पात्रलाई जति स्पेस दिनुपर्ने थियो, त्यति नपुगेको हो कि भन्ने भान भने हुन्छ ।

कालीप्रसाद उर्फ नागा (सौगात मल्ल) को अभिनय मौलिक छ । अन्य फिल्ममा लाउड सुनिने उनि यसा मौलिक सुनिएका छन् । यसरी हेर्दा, नागा योपटक भष्मे माथी भारी परेको देखिन्छ । जब नागा पर्दामा देखिन्छ, दर्शकले भष्मे भुल्छन् । नागा रुँदा दर्शक सँगै रुन्छन्, हाँस्दा सँगै हाँस्छन् । भष्मेप्रति भन्दा नागाप्रति दर्शकको सहानुभूति धेरै हुन्छ ।

फिल्ममा भष्मे, नागा या हनुमान सबै पात्रलाई ग्रे देखाइएको छ । यी तिनै पात्रलाई बिच बाटोमै छाडिएको छ । माताजी बनेकी मैनाको भने खासै धेरै पृष्ठभुमी खोतलिएको छैन । आशा गरौं, यी पात्रहरुबारे अझै खुलस्त अर्को फिल्ममा हेर्न पाइनेछ ।
फिल्मका केहि दृश्यहरु निकै मनमोहक र अर्थपूर्ण छ ।

उदाहरणका लागि, जब नागा पर्दामा फेरि फर्कन्छ, तब सबै भन्दा माथि उसैलाई देखाइन्छ । बिस्तारै क्यामेरा तल जान्छ र, पशुपतिनाथको मन्दिर माथि पुग्छ। अर्थात्, आफूलाई जति माथि ठानेपनि भगवान भन्दा त उ तल नै छ ।
अर्को सट पनि त्यस्तै मर्मस्पर्सी छ । जब भष्मेले पशुपति प्रसाद सँगको झगडा नगर्ने भनेर खाएको कसम तोड्छ । निकै माथीबाट यो सट लिइएको छ ।

फिल्ममा पशुपति प्रसादसँग सिक्वेन्स मिलाउन पनि हुनसक्छ, केहि सट पहिलेको र अहिलेको मिल्न जान्छ । पशुपति प्रसादमा जब पशुपतिले सतबिज छर्ने ठाउँबाट आकाशतिर फर्केर आमाबालाई स्वर्गको ढोका खुल्न आँटेको बताउँछ । त्यो समयको सट र अहिले भष्मेले पशुपतिसँग कसम तोडेको सट उस्तै छ । तर खिचाइमा भने भिन्नता देखिन्छ । पशुपति सुतेको ठाउँमा नागा सुत्नु, लेखेर वार्निङ दिनु लगायतका दृष्यहरुले पनि पहिलो भाग पशुपति प्रसादसँगको समानता देखाउँछ ।

फिल्ममा एक दृष्य छ, जहाँ संवादमै भनिएको हुन्छ, छ्या! कस्तो रुने पनि हाँस्ने पनि एकै पटक भयो । फिल्म पनि यहि संवाद जस्तै बनेको छ, कतै रुवाउने र फेरि रुवाउँदा रुवाउँदै हँसाउने । समग्रमा फिल्म सुन्दर बनेको छ । पशुपति प्रसादमा जत्तिको इमोसन महशुस गर्न नसकेपछि फिल्मले तपाईँलाई निराश भने बनाउने छैन ।

तर केहि प्रश्नको उत्तर भने अपुरो छ । जस्तै, के घटनाले भष्मेलाई पशुपति प्रसादप्रति माया पलायो ? पशुपति प्रसादको मितबा कसरी भष्मेको बा हुनपुगे ? पशुपति प्रसाद फिल्ममा भष्मे किन हनुमानसँग डराउँथ्यो ? भष्मेले बोकेर हिँडेको स्पीकर किन कहिल्यै बजेन र पछि त्यो एकाएक कता हरायो ? केहि अर्थ नभइ त पक्कै पनि त्यो स्पीकर गलामा झुण्डिएन होला नि ।
यी सबै प्रश्नको उत्तर अर्को फिल्ममा पक्कै आउला, अहिलेलाई यहि नै आशा गरौं ।