२०८२ चैत ८ आइतबार

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

  • admin २०८१ श्रावाण ३२ शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठकाअनुसार लिङ्देन गएराति मेलबर्नतर्फ प्रस्थान गर्नुभएको हो । लिङ्देनका साथमा प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की पनि अष्ट्रेलिया जानुभएको छ ।

राप्रपाको प्रवासी नेपाली एकता समाज (पानस)अष्ट्रेलियाले मेलबर्नमा आयोजना गर्ने भेलालाई अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, लिङ्देनले त्यहाँ रहेका नेपाली समुदायसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।मेलबर्नपछि एडिलेडमा एक कार्यक्रममा सहभागी भएर लिङ्देन सिड्नीमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् ।

अध्यक्ष लिङ्देनले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिनुभएको छ । लिङ्देन भदौ १० गते स्वदेश फर्किने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ ।

पूर्वउपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको यो पहिलो अष्ट्रेलिया भ्रमण हो । प्रवासी एकता समाजमध्ये अष्ट्रेलियाको संस्था राप्रपाको बलियो संस्था मानिन्छ ।