क्वीन्सल्याण्ड – ब्रिसबेनको चर्मसाइडस्थित Shree Ganesh Jewellers मा चार सशस्त्र लुटेराहरूले आक्रमण गरी ठूलो परिमाणमा गहना लुटेका छन्। घटनामा पसलका सञ्चालक बिजय सुनार गम्भीर घाइते भएका छन् र उनको आपत्कालीन मस्तिष्क शल्यक्रिया गर्नुपरेको छ।
मंगलबार बेलुकी ५ बजेपछि भएको घटनामा लुटेराहरू अनुहार छोपेर, हातमा ह्याम्मर र फलामका रड लिएर पसलभित्र पसेका थिए। क्वीन्सल्याण्ड प्रहरीका अनुसार, उनीहरूले पसलभित्र छिरेपछि बिजय सुनारमाथि ह्याम्मरले टाउकोमा पटक–पटक प्रहार गरे र काचका क्याबिनेटहरू फुटाउँदै ठूलो परिमाणमा गहना चोरी गरे।

घटनाको समयमा बिजयकी पत्नी समिता सुनार पनि पसलमै थिइन्। तर उनी भने सकुशल रहेको जनाइएको छ। समिता अनुसार, आक्रमणपछि बिजयलाई रॉयल ब्रिसबेन तथा महिला अस्पताल लगिएको थियो , जहाँ मस्तिष्कमा रगत जमेको (haematoma) निकाल्न आपत्कालीन शल्यक्रिया गरिएको छ। हाल उनी स्थिर अवस्थामा रहेका छन्।
श्री गणेश ज्वेलर्समा ग्राहक पस्नु अघि घन्टी थिचेर ढोका खोल्ने व्यवस्था थियो। स्थानीय सञ्चार माध्यमका अनुसार, आक्रमणकारीहरू पसलबाहिर एक महिला र उनका बालबालिका पस्ने कुर्ने अवस्थामा थिए। ती महिला भित्र पसेपछि डकैतहरू जबर्जस्ती ढोका छिर्दै पसलभित्र पसे र हमला सुरु गरे।
लुटेराहरू क्यालामभेल बाट आइतबार चोरी भएको भनिएको ग्रे रंगको Honda CR-V स्टेसन वागन चढेर फरार भएका छन्। हालसम्म कसैको गिरफ्तारी भएको छैन। प्रहरी अनुसन्धान जारी छ र घटनाबारे कुनै जानकारी छ भने क्राइम स्टपर्स लाई १८०० ३३३ ००० मा सम्पर्क गर्न सक्नुहुन्छ।
एक महिनाअघि मात्र ब्रिसबेनकै अर्को नेपाली सुन पसलमा यस्तै चोरी भएको थियो, र उक्त घटनामा संलग्न अपराधीहरू अझैसम्म पक्राउ परेका छैनन्। ब्रिसबेनमा नेपाली समुदायद्वारा सञ्चालित सुनचाँदी पसलहरूमा पुनः लुटपाटको घटना घट्नु गम्भीर चिन्ताको विषय बनेको छ। यस्ता घटनाहरू दोहोरिरहँदा नेपाली समुदायभित्र असुरक्षा र त्रासको वातावरण थप गहिरिँदै गएको देखिन्छ। गैरआवासीय नेपाली संघ, क्वीन्सल्याण्ड (NRNA Queensland) ले यस सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायसँग दोषीहरूलाई यथासिघ्र पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ।
यस्तो अवस्थामा, समुदायका सबै सदस्यहरू एक आपसमा एकता, सतर्कता र सहयोगको भावना राख्न आवश्यक छ। साथै, स्थानीय सुरक्षा निकायहरूसँग निरन्तर समन्वय गर्दै, सम्भावित जोखिमहरू न्यूनीकरण गर्न प्रयास गर्नु पनि जरुरी देखिन्छ।

तपाइँको प्रतिक्रीया