अहमदाबादको आकाशमा बिहीबार बिहान भएको दर्दनाक विमान दुर्घटनाले भारत मात्र होइन, विश्वभरलाई स्तब्ध बनायो। लन्डनको ग्याटविक विमानस्थलका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रीमलाइनर, उडान भरेको केही मिनेटमै समस्यामा पर्यो र मेडिकल विद्यार्थीहरू बस्ने भवनहरूमा ठोक्किन पुग्यो।
यस हृदयविदारक दुर्घटनामा २४२ मध्ये २४१ जनाको ज्यान गयो । चमत्कारी रूपमा बेलायती नागरिक विश्वश कुमार रमेश मात्र जीवित फेला परे। उनी विमानको ११ए सिटमा बसेका थिए, आफ्नै दाजुको छेउमा। आगोले विमान पूर्ण रूपमा खरानी पारिसकेपछि उनी कसरी बाँच्न सके भन्ने कुरा उनी आफैंलाई पनि रहस्यमय लागेको छ। “म बाँचें, तर दाजु छैनन्। अरू यात्रुहरू देखिएनन्। म कसरी निस्किएँ, थाहा छैन,” उनले क्र्यासको केही मिनेटपछि आफ्ना बाबुलाई भिडियो कल गर्दै भनेका थिए।
यस भयानक दुर्घटनाको कारण के थियो भन्ने यकिन गर्न शुक्रवार एक महत्त्वपूर्ण प्रगति भयो। भारतीय नागरिक उड्डयनमन्त्री राम मोहन नायडु किंजरापुले पुष्टि गरेअनुसार विमान दुर्घटनास्थलबाट ‘ब्ल्याक बक्स’ २८ घण्टाभित्रै उद्धार गरिएको छ। ब्ल्याक बक्स, जसको नाम कालो भए पनि रंग भने उज्यालो सुन्तला हुन्छ, यति मजबुत हुन्छ कि भीषण दुर्घटनापछि पनि सुरक्षित रहन सक्छ। । यसमा रहेको फ्लाइट डाटा रेकर्डर (FDR) ले जहाजको गति, उचाइ, इन्जिन स्थिति लगायतका प्रविधिक विवरण रेकर्ड गर्छ भने ककपिट भ्वाइस रेकर्डर (CVR) मा पाइलटहरूबीच भएको अन्तिम कुराकानी सुरक्षित रहन्छ। अब यही डाटाले पत्ता लगाउनेछ—के खराब मौसम जिम्मेवार थियो, कि प्रविधिक गडबडी? कि मानव त्रुटि?
उक्त उडानको भिडियो फुटेज र सीसीटीभी फुटेजहरूमा देखिएको छ कि जहाजले सामान्य रूपमा उडान भर्यो, तर केही सेकेन्डमै गती घट्दै गयो। पाइलटले ‘मेडे’ सन्देश पठाए तापनि त्यसले दुर्घटना टार्न सकेन। कुनै स्पष्ट आगलागी या बाहिरी क्षति नदेखिँदासम्म जहाज भवनमा ठोक्कियो र त्यसपछि जङ्गली आगो जस्तो फैलिएको आगोले पूरै विमान भष्म बनायो।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुक्रबार अहमदाबाद पुगेर दुर्घटनास्थलको निरीक्षण गरे र स्थानीय प्रशासन, उद्धारकर्मी तथा पीडित परिवारप्रति सहानुभूति व्यक्त गरे। उनले घटनालाई गम्भीरतापूर्वक लिँदै दोषी पहिचान गर्न र प्रणालीगत सुधार गर्न कडा निर्देशन दिएका छन्।
अब सबैको ध्यान ब्ल्याक बक्समा सुरक्षित सूचनातर्फ छ, जुन विश्लेषणपछि मात्र थाहा हुनेछ—कसरी ९ घण्टा ३० मिनेट लामो अन्तर्राष्ट्रिय यात्रा, केही सेकेन्डमै जीवन र मृत्युको सीमामा आइपुग्यो।
तपाइँको प्रतिक्रीया