२०८२ कातिर्क ३ आइतबार

एडिलेडमा नेपाली क्रिकेटको उत्सव: एन्काको दशक लामो योगदानको सम्मान (फोटो फिचर)

  • admin २०८२ असार ३१ मङ्गलबार

एडिलेड, अष्ट्रेलिया – दक्षिण अष्ट्रेलियामा नेपाली समुदायको प्रतिनिधित्व गर्दै एडिलेड नेप्लिज क्रिकेट एशोसियसन (एन्का)ले आफ्नो दसौं वर्षको यात्रालाई ऐतिहासिक बनाउँदै २०२४/२५ सिजनमा उल्लेखनीय योगदान दिने खेलाडी तथा सहयोगीहरूलाई भव्य समारोहको माध्यमबाट सम्मानित गरेको छ। यस समारोहले नेपाली प्रवासी खेलकुदको विकास, सामाजिक एकता र संस्कारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको एन्काको मिशनलाई पुनः पुष्टि गरेको छ।

एडिलेड नेप्लिज क्रिकेट एशोसियसन (एन्का) नेपाली समुदायका लागि खेलकुद मात्र होईन – यो सांस्कृतिक, सामाजिक र शैक्षिक गतिविधिको केन्द्र हो। विगत १० वर्षदेखि एन्काले नेपाली युवाहरुलाई क्रिकेटमार्फत सक्रिय राख्दै, सामाजिक एकता र एक-अर्काप्रतिको सद्भावना प्रवर्द्धन गर्न मञ्च प्रदान गरेको छ।

समारोहको औपचारिक शुरुआत संचालन एन्काका पब्लिक रिलेसन अफिसर दीपक क्षेत्रीले गरेका थिए । भने एन्काका सचिव सन्तोष जंग पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका विभिन्न चरणहरूमा क्लबका खेलाडी, प्रशिक्षक, स्वयंसेवक, सामाजिक अभियन्ता र नेपाली संस्थाका प्रतिनिधिहरूको उपस्थिति समेतले यो समारोहमाथि विशेष चमक भरिदिएको थियो।

प्रेसिडेन्ट अवार्ड: प्रवासमा नेपाली खेलकुदको विकासमा अनवरत योगदान पुर्याइरहेका श्रीधर वाग्लेलाई बालबालिकाहरुलाई खेल प्रशिक्षित गर्ने क्रममा अनुशासन, आत्मबल र स्वास्थ्य सुधारमा पुर्‍याएको योगदानको कदर स्वरूप यो प्रमुख सम्मान प्रदान गरियो। सम्मान ग्रहणपछि वाग्लेलाले भने, “खेल मात्र फुर्तिलोपन होइन, जिम्मेवारी सिकाउने पाठशाला पनि हो।”

सिजन २०२४/२५ का उत्कृष्ट खेलाडीहरू:

Valuable Player of the Season
पुरुष – अनिल खरेल; महिला – रक्षा शुक्ला; जूनियर – प्रेरित जोशी

Best Player of the Season
पुरुष – प्रमेश गिरी; महिला – ग्रिस्मा थापा; जूनियर – आर्य श्रेष्ठ

Best Performance on the Field
पुरुष – पुजन न्यौपाने; महिला – बिनिता गौतम; जूनियर – प्रेरित जोशी

Best Bowler
पुरुष – दीपक क्षेत्री; महिला – डोल्कर गुरुङ; जूनियर – इशान पौडेल

Best Batsman
पुरुष – प्रमेश गिरी; महिला – बिनिता सिंह; जूनियर – प्रेरित जोशी

Emerging Player:
पुरुष – सौरभ बराल; महिला – ड्रिजल बिष्ट

यसका अतिरिक्त, “Volunteer of the Season” को उपाधि अभिषेक प्रसाद जोशीलाई प्रदान गरियो। उनले वर्षभरि एन्काका विविध कार्यक्रमहरूमा आत्मीयता र सक्रियतापूर्वक सहभागिता जनाएका थिए।

त्यसैगरी कार्यक्रममा समुदायप्रति विशेष सेवाका लागि साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का र पूर्व खेलाडी प्याट्रिसिया मिकन (OLY) लाई सम्मान प्रदान गरियो। यसले खेलकुदमार्फत सामाजिक समन्वय र समुदाय निर्माणमा एन्काको अटुट प्रतिबद्धता देखाएको छ।

समारोहमा विशेष अतिथि रूपमा उपस्थित साउथ अष्ट्रेलियाकी पूर्व मन्त्री तथा विपक्षी दलकी नेतृ जिङ लीले, “एन्काले क्रिकेटलाई नेपाली समुदायको पहिचानसँग जोड्दै बहुसांस्कृतिक अष्ट्रेलियामा एकता र सहभागिता प्रवर्द्धन गरेको छ” भन्दै प्रशंसा व्यक्त गर्नुभएको थियो।

पारा ओलम्पियन र एन्काकी सल्लाहकार क्ट्रीना ओएभले आफ्नो नेपाल भ्रमणको अनुभव साट्दै, खेलले मानिसहरूलाई जोड्ने अनौठो शक्ति रहेको सन्देश पनि साझा गरिन्। कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज एडिलेडका निर्देशक रुपक वर्तौलाले आफ्नो संस्थाको तर्फबाट भविष्यमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, एनपिएलमा विराटनगरका खेलाडीका रूपमा प्रतिनिधित्व गरेका अनिल खरेलले एन्काले प्रवासमा नेपाली युवालाई क्रिकेटजस्तो खेलकुदमा सक्रिय राख्न र प्रतिभा उजागर गर्न पु¥याएको भूमिकाप्रति आभार व्यक्त गरे।

समारोहको समापनमा अध्यक्ष विजय जोशीले एन्काको १० वर्षे यात्रा सफल बनाउने सबै क्लब, खेलाडी, स्वयंसेवक, विज्ञापनदाता, र समुदायप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । एन्काले आफ्नो शिक्षा र सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउने अभियानलाई निरन्तरता दिँदै आएको छ। त्यसै सन्दर्भमा, एडिलेड नेपाली विद्यालय र एडिलेड नेपाली पाठशालालाई समेत विशेष सम्मान प्रदान गरिएको थियो। शिक्षाको माध्यमबाट संस्कार र भाषा जगेर्नाको कार्य गरिरहेको उनीहरूको भूमिका सराहनीय रहेको बताइएको थियो।

एन्काको १० वर्षे यात्रा नेपाली प्रवासी खेलकुद र सामाजिक एकताको प्रेरणा बनेको छ। विविध स्तरमा उत्कृष्ट खेलाडीहरूको सम्मान तथा समुदायमा गरिएको सेवाका लागि दिइएका सम्मानहरूले नेपाली खेलकुदको उत्थान मात्र होइन, सांस्कृतिक पहिचान र सामाजिक सद्भावनाको महत्त्व पनि उजागर गरेका छन्। एडिलेड नेप्लिज क्रिकेट एशोसियसनले भविष्यमा पनि आफ्नो शैक्षिक, सामाजिक र खेलकुदका अभियानलाई निरन्तरता दिँदै, नेपाली समुदायलाई प्रेरित गर्ने कार्यमा अग्रसर रहने अपेक्षा गरिएको छ।