एडिलेड,अष्ट्रेलिया- साउथ अष्ट्रेलियामा सञ्चालनमा रहेको नेपाली परिवारद्वारा सञ्चालित Indianclub SA रेस्टुरेन्टले एकैसाथ दुई प्रतिष्ठित अवार्ड जित्दै गर्विलो सफलता हात पारेको छ। पारिवारिक वातावरणमा उत्कृष्ट सेवा र स्वादका कारण Best Family Dining श्रेणीमा विजेता बन्न सफल यो रेस्टुरेन्टले २०२५ को Major Award for Casual Dining of the Year पनि जितेको छ।

यो उपलब्धि रेस्टुरेन्टका लागि मात्र नभई सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय बनेको छ। अवार्डपछि खुशी व्यक्त गर्दै रेस्टुरेन्टकी सञ्चालिका अनु खरेलले भन्नुभयो — “पारिवारिक व्यवसायको रूपमा ‘Best Family Dining’ अवार्ड पाउनु हाम्रो लागि विशेष सम्मान हो। त्यसमाथि, ‘Casual Dining of the Year 2025’ को प्रमुख अवार्ड जित्नु त अद्भुत र अप्रत्याशित सरप्राइज हो। यो सम्भव बनाउन सहयोग गर्ने सबैलाई हाम्रो हार्दिक धन्यवाद।”
स्थानीयस्तरमा लोकप्रिय Indianclub SA ले नेपाली स्वादसँगै भारतीय तथा फ्यूजन व्यञ्जनमार्फत विविध संस्कृतिका ग्राहकको मन जित्दै आएको छ। पुरस्कारले रेस्टुरेन्टको गुणस्तरीय सेवा, स्वाद र ग्राहकप्रतिको आत्मीयतामा थप विश्वास दिलाएको छ। एडिलेडस्थित इन्डियन क्लब एसए ले केवल स्वादिष्ट परिकार र उत्कृष्ट सेवा मार्फत ग्राहकको मन जितेको छैन, यसले समुदायमा रोजगारी सिर्जनाको महत्वपूर्ण योगदानसमेत दिएको छ। परिवारकै पहलमा सुरु भएको यस व्यवसायले स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन उल्लेखनीय सफलता हासिल गरेको छ। रेस्टुरेन्टले यसभन्दा अघि पनि विभिन्न विधामा स्थानीय र राष्ट्रिय अवार्डहरु पनि पाइसकेको छ।
स्थापना कालदेखि नै गुणस्तरीय सेवा, आतिथ्य र सांस्कृतिक स्वादको मिश्रणलाई प्राथमिकता दिँदै आएको इन्डियन क्लब एसएले हालसम्म थुप्रै युवाहरूलाई रोजगारीका अवसर प्रदान गरेको छ। यो सफलता नेपाल मूलका उद्यमीहरूले अष्ट्रेलियामा पनि व्यवसायिक क्षेत्रमा उच्च स्तरमा प्रतिस्पर्धा गर्न सक्ने प्रमाणका रूपमा हेरिएको छ।


तपाइँको प्रतिक्रीया