२०८२ कातिर्क ३ आइतबार

एडिलेडमा २०२७ ओशिनिया नेप्लिज स्पोर्ट्स मिट: बिजय जोशी अध्यक्षमा चयन

  • admin २०८२ श्रावाण ३० बिहीबार

अष्ट्रेलिया — ओशिनियाका नेपालीहरूको “ओलम्पिक” मानिने ओशिनिया नेप्लिज स्पोर्ट्स मिटको आगामी संस्करण एडिलेडमा भव्य रूपमा आयोजना हुने भएको छ। आइतवार सम्पन्न साधारण सभाले ७औँ ओशिनिया नेप्लिज स्पोर्ट्स मिट संयोजन समिति अध्यक्षमा बिजय जोशीलाई चयन गरेको छ।

यसअघि अप्रिल २० मा पर्थमा सम्पन्न ६औँ संस्करणको समापन समारोहमा ७औँ संस्करणको आयोजना अष्ट्रेलियाको पाँचौं ठूलो शहर एडिलेडमा हुने घोषणा गरिएको थियो। साधारण सभाले आगामी संस्करणमा भव्य तयारी र सहभागिताका लागि उत्साह व्यक्त गरेको थियो।ओशिनियाका नेपालीहरूको “ओलम्पिक” मानिने ओशिनिया नेप्लिज स्पोर्ट्स मिट एक बहुप्रतिक्षित खेलकुद महोत्सव हो, जसले विदेशमा बसोबास गर्ने नेपाली समुदायलाई आफ्नो खेलकुद प्रतिभा प्रस्तुत गर्ने अवसर दिने मात्र होइन, एक आपसको मेलमिलाप र सांस्कृतिक पहिचान बलियो बनाउने माध्यमको रूपमा समेत महत्त्वका साथ हेर्ने गरिन्छ।

नव निर्वाचित अध्यक्ष जोशी, जो एडिलेड नेप्लिज क्रिकेट एसोसियसनका अध्यक्ष समेत हुनुहुन्छ , २०२७ मा मिट आयोजना गर्ने अवसर पाएकोमा अत्यन्तै उत्साहित देखिनुभयो। अध्यक्ष जोशी समुदायको एकता र सहकार्यको महत्व औँल्याउँदै भन्नुभयो, “सिर्फ खेलाडी मात्र नभई साउथ अष्ट्रेलियाका सबै नेपाली संस्था र खेलकुद संगठनहरूको सहकार्यमा हामी यो महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नेछौँ।”

जोशीले विधान अनुसार राष्ट्रिय संयोजन समितिलाई पूर्णता दिने र राज्य संयोजन समितिलाई सरोकारवालासँग छलफल गरी व्यवस्थित गर्ने पनि जानकारी दिनुभयो। आगामी मिटमा क्रिकेट, फुटबल, भलिबल, लन टेनिस, टेबल टेनिस, बास्केटबल, ५ किलोमिटर दौड, गोल्फ, पौडी र ब्याडमिन्टन गरी १० खेल समावेश हुनेछन्।

७औँ ओशिनिया नेप्लिज स्पोर्ट्स मिट मार्च २६–२८, २०२७ मा आयोजना हुने तय भएको छ। जोशीका अनुसार, “यो महोत्सव नेपाली समुदायको एकता, खेलकुदप्रति लगाव र युवा प्रतिभालाई प्रोत्साहित गर्ने विशेष अवसर हुनेछ।”

ओशिनिया नेप्लिज स्पोर्ट्स मिट केवल खेलकुद कार्यक्रम नभई, नेपाली युवा, खेलाडी र समुदायलाई अन्तरक्रियात्मक प्लेटफर्म दिने, नेतृत्व र संगठन क्षमता विकास गर्ने, र नेपाल र बासस्थानबीचको सम्बन्ध बलियो बनाउने अवसर पनि हो। यसले नेपाली समुदायमा खेलकुद, अनुशासन र एकताको भावना प्रवर्धन गर्दै अगाडि बढ्ने सांस्कृतिक र सामाजिक महत्व राख्दछ।