२०८२ चैत ८ आइतबार

अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल

  • admin २०८१ पौष २४ बुधबार

अमेरिका / प्रधान कार्यालय अमेरिकामा रहने गरी अन्तर्राष्ट्रिय पत्रकार महासंघ (फिजा) स्थापना भएको छ । अमेरिकामा दर्ता भई रामप्रसाद खनालको अध्यक्षतामा पहिलो कार्यसमिति समेत गठन गरिएको बिज्ञप्ती मार्फत जानकारी दिइएको छ ।

अमेरिकाको कानुन अनुसार स्थापित अन्तर्राष्ट्रिय पत्रकार महासंघ पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन हुने र सस्थाले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्ने उद्देश्य लिएको अध्यक्ष खनालले बिज्ञप्ती मार्फत जानकारी दिएका छन् । महासंघको सल्लाहकारमा कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधानसम्पादक योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका पूर्व प्रधानसम्पादक पुरुषोत्तम दाहाल, राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईँ, गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष पुरु घिमिरे, कान्तिपुर दैनिकका पूर्व आर्थिक ब्यूरो प्रमुख विजय घिमिरे चयन भएका छन् ।

महासंघको अध्यक्षमा चयन भएका खनाल नेपाल मदर डटकमका प्रधान सम्पादक तथा एभिन्यूज टेलिभिजनका अमेरिका सम्पादक हुन् । यसैगरी महासंघको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख जीवराम भण्डारी, एभिन्यूज खबर टेलिभिजनका समाचार प्रमुख केदार कोइराला, नेपाल समाचार पत्रका पूर्व सम्पादक टंक पन्त र नेप्लिज डायस्पोराका प्रधानसम्पादक सतिश चापागाईँ चयन भएका छन् ।

यसैगरी महासंघको महासचिवमा माइक्रोसफ्ट इन्जिनियर टंक दाहाल छानिएका छन् भने सचिवमा न्यूजपाली डटकमका प्रकाशक तथा सम्पादक अनिल अधिकारी चयन भएका छन् । यस्तै कोषाध्यक्षमा डिसी नेपालका अमेरिका ब्युरो प्रमुख अर्जुन दाहाल छानिएका छन् ।

यसैगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघको बोर्ड अफ डाइरेक्टरमा इनेप्लिज डटकमका प्रधानसम्पादक विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्धसम्पादक नवराज कुँवर, क्रियाशील वरिष्ठ पत्रकार दिनेश कार्की, गोरखापत्रका पूर्व सहसम्पादकका कृष्णराज खनाल चयन भएका छन् ।

यस्तै क्यानडाबाट नमस्ते रेडियोका पत्रकार अनिल थापा, चलचित्र पत्रकार सुमन दाहाल, अस्ट्रेलियाबाट देशान्तरका पत्रकार सुरेन्द्र सापकोटा बोर्ड अफ डाइरेक्टर छानिएका छन् ।

सबै महादेशहरूबाट प्रतिनिधित्व हुनेगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघलाई पूर्णता दिइने जनाइएको छ । केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने अध्यक्ष खनालले जानकारी दिए ।

पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता संगठनका रूपमा काम गर्ने अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको भनाई छ । नेपाली पत्रकारहरूलाई मात्र नभई विभिन्न देशबाट समेत पत्रकारहरूलाई समेट्दै जाने लक्ष्य लिएको महासंघले जनाएको छ ।