अस्ट्रेलिया/ अस्ट्रेलियाका विभिन्न राज्यहरूमा नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको सहकार्यमा आयोजित पासपोर्ट घुम्ती शिविरमार्फत एकै वर्षमा २४ सयभन्दा बढी नेपालीहरूले पासपोर्ट नविकरण सेवा लिएका छन्।
एनआरएनए अस्ट्रेलियाका अनुसार गत वर्ष आयोजित पाँचवटा शिविरहरूबाट २,४२७ जनाले सेवा लिएका हुन्। पर्थमा फेब्रुअरी २० देखि २६ सम्म आयोजित शिविरमा ५४१ जनाले सेवा लिएका थिए। त्यसैगरी, अप्रिल ५ देखि १० सम्म एडिलेडमा आयोजित शिविरबाट ६०३ जनाले पासपोर्ट नविकरण गराएका थिए। ब्रिसबेनमा अगष्ट १९ देखि २३ सम्म आयोजित शिविरमा ४५० जना, डिसेम्बर ५ देखि ८ सम्म डार्विनमा ३३३ जना, र जनवरी १४ देखि १८ सम्म तास्मानियामा आयोजित शिविरबाट ५०० जनाले सेवा लिएका छन्। एनआरएन अस्ट्रेलियाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी सेवा लिनेमा साउथ अस्ट्रेलिया रहेको छ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलका अनुसार पासपोर्ट घुम्ती शिविरहरूको आयोजनाले सेवाग्राहीलाई क्यानबेरासम्म पुग्ने खर्च र समयको बचत गराएको छ । “शिविरका कारण लाखौं डलर बचत भएको छ, साथै सेवाग्राहीलाई सहजता भएको छ,” उनले बताए।
शिविर सञ्चालनका लागि आवश्यक खर्च सेवाग्राहीबाट २५ देखि ७० डलरसम्मको सहयोग संकलन गरेर व्यवस्थापन गरिएको पोखरेलले जानकारी दिए । “संकलित रकमबाट शिविरका खर्च व्यवस्थापन हुन्छ। बाँकी रकम सामाजिक र परोपकारी कार्यमा प्रयोग गर्ने गरिएको छ,” उनले भने।
नेपाल सरकारको दूतावासमा जनशक्ति र बजेटको अभावका कारण, यस्ता शिविरहरूको आयोजनाका क्रममा दूतावासका कर्मचारीहरूको हवाई टिकट, आवास र अन्य खर्च समेत संकलित रकमबाट व्यवस्थित गरिएको पोखरेलले बताए।
पासपोर्ट घुम्ती शिविरले दूतावास र एनआरएनए बीचको सहकार्यलाई थप सुदृढ बनाएको र आवश्यक सेवा समुदायलाई सहज रूपमा उपलब्ध गराएको एनआरएन अस्ट्रेलियाले जनाएको छ।
एनआरएनएले यस्ता शिविरहरूमा योगदान गर्ने कर्मचारी र स्वयंसेवकलाई विशेष धन्यवाद व्यक्त गरेको छ। “स्वयंसेवकको सहयोगबिना यस्ता कार्यक्रम सफल बनाउनु असम्भव थियो,” पोखरेलले भने।
यस प्रकारका घुम्ती शिविरहरूले नेपाली समुदायलाई केवल सेवा प्रदान गरेको छैन, समग्रमा एकता र सहकार्यको भावना पनि प्रवर्द्धन गरेको छ।


तपाइँको प्रतिक्रीया