सिड्नी, अष्ट्रेलिया – न्यू साउथ वेल्स (एनएसडब्लू) मा रहेको नेपाली महावाणिज्य दूतावासको नयाँ कार्यालयको औपचारिक उद्घाटन तथा अष्ट्रेलियाका लागि नेपालकी नवनियुक्त राजदूत चित्रलेखा यादवको औपचारिक स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
महावाणिज्य दूतावासको उद्घाटन नवनियुक्त राजदूत चित्रलेखा यादवले रिबन काटेर गर्नुभएको थियो। कार्यक्रममा राजदूत चित्रलेखा यादवले आफ्नो स्वागतमा खुशी व्यक्त गर्दै नेपाली समुदायसँग सहकार्य गरी यहाँ रहेका नेपालीहरूको हकहित प्रवर्द्धन गर्ने प्रतिवद्धता जनाउनु भयो। राजदूत यादवले भन्नुभयो, “नेपाली समुदायसँगको सहकार्य र समन्वयबाट अष्ट्रेलियामा नेपाली पहिचानलाई थप मजबुत बनाउने मेरो प्रयास हुनेछ।”

महावाणिज्यदूत संजीव शर्माले उद्घाटन समारोहमा बोल्दै नयाँ कार्यालयबाट एनएसडब्लू क्षेत्रमा रहेका नेपालीहरूको सेवामा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भयो। उहाँले कार्यक्रममा सहभागि सबैलाई धन्यवाद दिनुका साथै, यो कार्यालयले नेपाली डायस्पोराका हक-हितका लागि एक नयाँ आयाम थप्ने र समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले शुभकामना व्यक्त गर्दै नेपाली समुदायको विकास र प्रवर्द्धनमा दूतावासको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष पोखरेलले महावाणिज्य दूतावास र नेपाली समुदायबीचको सहकार्यमा विगतमा जस्तै सधैँ एनआरएनए अस्ट्रेलियाले पनि साथ दिने बताउनुभयो।
कार्यक्रममा विभिन्न समुदायका नेताहरू, व्यवसायी, पत्रकारहरूका साथै, सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो। उनीहरूले नेपाली समुदायका लागि दूतावासको भूमिकालाई सराहना गर्दै भविष्यका योजनाहरूमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।
नयाँ कार्यालय उद्घाटनसँगै महावाणिज्य दूतावासले एनएसडब्लू क्षेत्रमा रहेका नेपालीहरूका प्रशासनिक तथा दूतावासीय सेवाहरू थप प्रभावकारी र सहज रूपमा प्रवाह गर्ने विश्वास गरिएको छ। सिड्नीको सबैभन्दा व्यस्त र मुटु मानिने टाउनहलमा खोलिएको कार्यालय भित्र नेपाली मौलिक कला, संस्कृति र परम्परा भल्किने गरि सजावट गरिएको छ ।








तपाइँको प्रतिक्रीया