२०८२ चैत ८ आइतबार

नेपल फेस्टीभल २०२५ को अन्तिम गन्तव्य ब्रिसबेनमा भव्य रूपमा सम्पन्न

  • admin २०८१ चैत २३ आइतबार

ब्रिसबेन,अष्ट्रेलिया – नेपाली समुदायको सांस्कृतिक गौरव प्रस्तुत गर्ने उद्देश्यले सम्पन्न नेपाल फेस्टीभल २०२५ को अन्तिम र भव्य कार्यक्रम ब्रिसबेनमा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। क्विन्सल्याण्डको राजधानी ब्रिसबेनको मुटुमा आयोजना गरिएको यस उत्सवले सम्पूर्ण सहरलाई नेपाली सांस्कृतिक रङमा रंगायो।

कार्यक्रमको प्रमुख आकर्षणहरूमा परम्परागत नेपाली पोशाकमा सुसज्जित बृहत् परेड, देशका विभिन्न क्षेत्रको झल्को दिने सांस्कृतिक नृत्य र गीत, स्वादिलो नेपाली खाना, आकर्षक हस्तकला र परम्परागत सामग्रीका स्टलहरू तथा ‘नेपाल हाउस’ नामक विशेष प्रदर्शनी रहेको थियो। नेपाल हाउसमा नेपाली कला, पर्यटन, इतिहास र संस्कृतिको मनमोहक झल्को प्रस्तुत गरिएको थियो, जसले धेरै अष्ट्रेलियाली दर्शकहरूलाई समेत आकर्षित गर्‍यो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सो राज्यका प्रिमियर तथा विशेष अतिथिका रूपमा नेपाली राजदूत चित्रलेखा यादवको उपस्थिति रहेको थियो। यसपटकको ब्रिसबेन फेस्टीभलमा सबैभन्दा ऐतिहासिक पक्ष भनेको क्विन्सल्याण्डका माननीय प्रिमियर डेभिड क्रिसाफुलीको सहभागिता रह्यो। यो पहिलोपटक हो, जब कुनै प्रिमियरले नेपाल फेस्टीभल ब्रिसबेनमा सहभागी भएर नेपाली समुदायप्रति ऐक्यबद्धता जनाएका छन्। साथै अष्ट्रेलियाली राजनीतिका दुबै धारका नेताहरूको उपस्थिति तथा समर्थनले कार्यक्रममा अतिरिक्त सम्मान थप्यो।

एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा सम्पन्न भएको यो फेस्टीभल डार्विन, पर्थ, सिड्नी, एडिलेड, मेलबर्न, क्यानबरा, होबार्ट हुँदै अन्ततः ब्रिसबेनमा समापन भएको हो। प्रत्येक सहरमा हजारौं दर्शकहरूको सहभागिता रहेको थियो। यी कार्यक्रममा स्थानीय सरकार, समुदायका अगुवा, अष्ट्रेलियाली नागरिक तथा अन्तर्राष्ट्रिय पाहुनाहरूको उत्साहजनक उपस्थिति रह्यो।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले सम्पूर्ण सफलताका लागि सहभागी सबै स्वयंसेवक, आयोजक टिम, स्थानीय नेपाली संघ-संस्थाहरू, प्रायोजकहरू तथा दर्शकहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “यो यात्रा केवल सांस्कृतिक उत्सव मात्र होइन, अष्ट्रेलियामा नेपाली समुदायको पहिचान, आत्मगौरव र एकताको समुन्नत प्रदर्शन पनि हो।”

नेपाल फेस्टीभल अब अष्ट्रेलियामा नेपाली समुदायको नियमित र प्रतीक्षित पर्व बनिसकेको छ। यस्तो उत्सवले नयाँ पुस्तालाई आफ्नो संस्कृति नबिर्सन प्रेरणा दिन्छ भने अष्ट्रेलियाली मूलधारका समुदायलाई नेपालीपन बुझ्ने अवसर प्रदान गर्छ।