अष्ट्रेलिया — अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बेनीजले गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाद्वारा हालै सम्पन्न गरिएको नेपाल फेस्टिवल ब्रिसबेन २०२५ को अवसरमा विशेष शुभकामना सन्देश पठाएका छन्। उक्त सन्देशमा उनले अष्ट्रेलियामा रहेका नेपालीहरूको योगदानको प्रशंसा गर्दै,यो उत्सवलाई अष्ट्रेलियाली समाजको विविधता र बहुसांस्कृतिक पहिचानको प्रतीकका रूपमा वर्णन गरेका छन्।

प्रधानमन्त्री एल्बेनीजले नेपाल फेस्टिवललाई “अत्यन्तै रमाइलो र महत्वपूर्ण सांस्कृतिक उत्सव” भन्दै प्रशंसा गरेका छन्। उनले भनेका छन्, “यस्ता सांस्कृतिक कार्यक्रमहरूले हाम्रो देशको शक्ति, विविधता, समुदाय भावना र बहुसांस्कृतिक सफलतालाई झल्काउँछ। साथै, यिनले आप्रवासी समुदायहरूको महत्वपूर्ण योगदान सम्झाउने अवसर पनि दिन्छन्।”
सन्देशमा उनले अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूलाई सशक्त र वृद्धि भइरहेको समुदायको रूपमा चित्रण गरेका छन्। साथै नेपालीहरू पेशागत क्षेत्रमा नेतृत्वमा तथा स्वयंसेवाका माध्यमबाट देखाउँदै आएको समर्पण र कडा परिश्रम प्रशंसनीय भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले एनआरएनए अष्ट्रेलिया तथा नेपाल फेस्टिवलमा संलग्न सम्पूर्ण टिमलाई बधाई दिँदै,कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गरेकोमा धन्यवाद दिएका छन्। उनले भनेका छन्, “तपाईंहरू र तपाईंहरूको समुदायले हाम्रो राष्ट्रलाई अझ सशक्त र जीवन्त बनाउन सहयोग गर्दै आउनुभएको छ।”
उनको सन्देशको अन्त्यमा “Enjoy the festivities!” लेखिएको छ, जसले कार्यक्रमप्रति उत्साह र समर्थन दर्शाउँछ।
प्रधानमन्त्रीको सन्देशप्रति आभार प्रकट गर्दै NRNA अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अष्ट्रेलियाको बहुसांस्कृतिक एकतालाई नेपाली समुदायले गर्वका साथ प्रस्तुत गरिरहेको बताएका छन्।
नेपाल फेस्टिवलमा सहभागिता जनाउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै उनले “विविधतामा एकता”को भावनालाई निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।


तपाइँको प्रतिक्रीया