अष्ट्रेलिया/ अष्ट्रेलियाको संघीय निर्वाचन २०२५ मा लेबर पार्टीकी उम्मेदवार अली फ्रान्सले क्विन्सल्याण्डको डिक्सन निर्वाचन क्षेत्रमा विपक्षी नेता पिटर डटनलाई पराजित गर्दै ऐतिहासिक सफलता हात पारेकी छन्। यो पराजयसँगै पिटर डटन अष्ट्रेलियाको संघीय निर्वाचनमा आफ्नो सिट गुमाउने पहिलो विपक्षी नेता बनेका छन् ।

अली फ्रान्सले २०१९ र २०२२ मा पनि डिक्सनबाट उम्मेदवारी दिएकी थिइन्, तर तेस्रो प्रयासमा मात्र सफलता प्राप्त गरिन्। उनी पूर्व पत्रकार, अपांगता अधिकारकर्मी तथा विश्व च्याम्पियन पारा-एथलीट हुन्। २०११ मा कार दुर्घटनामा खुट्टा गुमाएकी फ्रान्सले आफ्नो छोराको सुरक्षाका लागि ज्यान जोखिममा राखेकी थिइन्। साथै, उनले आफ्नो जेठो छोरालाई ल्युकेमियाका कारण गुमाएकी थिइन् ।
पिटर डटनले २४ वर्षसम्म डिक्सन सिट सम्हालेका थिए। २०२२ को निर्वाचनमा उनले १.७% को सानो अन्तरले जितेका थिए, तर २०२५ मा अली फ्रान्सको सशक्त चुनावी अभियान र जनताको समर्थनले उनलाई पराजित गरायो ।
यो परिणामले अष्ट्रेलियाको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याएको छ। प्रधानमन्त्री एन्थोनी एल्बानिजले दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्, र लेबर पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको छ ।

तपाइँको प्रतिक्रीया