२०८२ चैत ८ आइतबार

एनआरएनए अष्ट्रेलियाको निर्वाचन जुलाई २६ मा, १९ सदस्यीय बोर्ड चयन हुने

  • admin २०८२ बैशाख २८ आइतबार

सिड्नी,अष्ट्रेलिया– गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आगामी जुलाई २६ मा २०२५-२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन गर्ने भएको छ। सिड्नीस्थित एनआरएनए कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अनिल पोखरेलले निर्वाचनको विस्तृत जानकारी सार्वजनिक गरेका हुन्।

संघको नयाँ विधान अनुसार यसपटक एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव र एक कोषाध्यक्षका लागि मात्र निर्वाचन हुनेछ। अघिल्लो कार्यकालसम्म रहने राज्य संयोजकहरू अब उपाध्यक्ष पदमा रहने छैनन्। यो संरचनागत परिवर्तन अघिल्लो वर्ष एडिलेडमा सम्पन्न विधान अधिवेशनमा पारित गरिएको हो।

अध्यक्ष पोखरेलका अनुसार एनआरएन अष्ट्रेलियाको बोर्ड सदस्य संख्या पनि वृद्धि गरी १९ पुर्‍याइएको छ। यसअघि १७ सदस्यीय बोर्ड रहने गरेकोमा उपाध्यक्ष र प्रिन्सिपल ग्रान्ट अफिसर थप गरिएको हो । सदस्यता लिन चाहने व्यक्तिहरूका लागि समय सीमा ६ जुनसम्म तय गरिएको छ।

चुनाव पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ। सदस्यता शुल्क पनि परिमार्जन गरिएको छ,साधारण सदस्यता शुल्क अब ३० डलर (पहिले २५ डलर थियो) र आजीवन सदस्यता शुल्क २५० डलर तोकिएको छ। एउटा कार्डबाट चारजना सदस्यता लिन सक्ने व्यवस्था भने यथावत राखिएको छ।

निर्वाचन सम्पन्न गराउने जिम्मा डिल्ली ढकाललाई राष्ट्रिय निर्वाचन संयोजकको रूपमा दिइएको छ भने राजु उपाध्याय उपसंयोजक तोकिएका छन्। त्यस्तै, राज्यस्तरीय संयोजकहरूमा न्यू साउथ वेल्समा राजु मानन्धर, भिक्टोरियामा हेम दुलाल, क्वीन्सल्याण्डमा सुरेश खत्री, साउथ अष्ट्रेलियामा अंकुर उपाध्याय, वेस्टर्न अष्ट्रेलियामा रविन वर्तौला, तास्मानियामा कञ्चन अर्याल, एसीटीमा कृष्ण सुवेदी र नर्दन टेरिटोरीमा दिनेश सापकोटा तोकिएका छन्।

निर्वाचन आयोगमा अन्य सदस्यहरूको मनोनयन संघले थप गर्ने बताइएको छ। एनआरएन अस्ट्रेलियाको कार्यकाल दुई वर्षको रहेको छ । अष्ट्रेलियामा सबैभन्दा धेरै एनआरएनए सदस्य रहने भए पनि यो निर्वाचन संस्थागत सुधार र डिजिटल प्रणालीमार्फत पारदर्शी बनाउने दिशामा एक महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा आईसीसीका सचिव ज्ञानेन्द्र रेग्मी, एनआरएन एनएसडब्लुका संयोजक विनोद कुवँर, कोषाध्यक्ष अर्जुन गौतम र युवा संयोजक सुमन बोहरालगायत उपस्थित थिए ।