२०८२ फागुन १८ सोमबार

नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतमा मेयर निर्वाचित

  • admin २०८२ जेठ २ बिहीबार

बेलायत । नेपालको पाल्पामा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित भएका छन्। लेबर पार्टीका तर्फबाट उम्मेदवारी दिएका सारुले २० मत ल्याएर प्रतिस्पर्धी विल मार्कमलाई पराजित गरेका हुन्।

बिहीबार ननिटनको काउन्सिल हलमा सम्पन्न बार्षिक बैठकमा भएको निर्वाचनमा सत्तापक्ष लेबर पार्टीका काउन्सिलर क्याप्टेन सारु मेयर पदमा निर्वाचित भएका हुन् । लेबरका १९, कन्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जना काउन्सिलर रहेको बरोमा सारुले २० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी विल मार्कमले १५ मत प्राप्त गरे । अन्य चार जना काउन्सिलर निर्वाचन प्रक्रियामा अनुपस्थित थिए । मेयरमा निर्वाचित भएका मेयर सारुले आजै काउन्सिलको पूर्ण बैठकमा पद तथा गोपनियताको शपथ लिए । उनलाई निवर्तमान मेयर विल ह्यानकक्सले पद हस्तान्तरण गरेका थिए ।

तीन दशकसम्म ब्रिटिश सेनामा सेवा गरेका सारु हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्ष हुन्। बेलायतमा व्यवसाय र समाजसेवामा सक्रिय उनी सन् २०१७ देखि राजनीतिमा लागेका थिए।

शपथ ग्रहण समारोहमा मेयर सारुले नेपालको ग्रामीण भेगमा जन्मेर बेलायतको मेयरको पदमा सेवा गर्ने अवसर प्राप्त गर्नु आफूसँगै सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय भएको बताए। उनले बरोका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताए।

सारुले आफूले सिकेका कुरा नेपालमा साटासाट गर्न तयार रहेको बताए। उनले यहाँका नेपाली समुदायका लागि केही सहजता ल्याउने र मेयरको अनुभव नेपालका लागि पनि फलदायी हुनसक्ने धारणा व्यक्त गरे।

भीम सारु मगरको मेयर पदमा निर्वाचित हुनु नेपाली समुदायको लागि गौरवको विषय हो, यो बेलायती समाजमा नेपाली मूलका व्यक्तिहरूको योगदान र पहिचानलाई औपचारिक रूपमा सम्मानित गरिएको ऐतिहासिक क्षण पनि हो।