२०८२ चैत ८ आइतबार

Qantas ले दशकपछि फेरि एडिलेडबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने

  • admin २०८२ जेठ ३ शुक्रबार

एडिलेड, अष्ट्रेलिया – अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी Qantas ले करिब ११ वर्षपछि फेरि एडिलेडबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने घोषणा गरेको छ। सन् २०१३ मा सिंगापुरका लागि उडान बन्द गरेपछि Qantas ले दक्षिण अष्ट्रेलियाबाट कुनै पनि अन्तर्राष्ट्रिय सेवा सञ्चालन गरेको थिएन। तर अब त्यो अवस्थाको अन्त्य हुँदैछ।

Qantas ले अक्टोबर ३१ तारिखदेखि एडिलेड र अकल्याण्ड (न्युजील्याण्ड) बीच सिजनल उडान सञ्चालन गर्ने जानकारी गराएको छ। यो उडान बोइङ ७३७ विमानमार्फत सञ्चालन हुनेछ र हप्तामा चारपटक सेवा उपलब्ध हुनेछ। सिजनल रूपमा मे ३, २०२६ सम्म यो उडान कायम रहनेछ।

हाल यस रुटमा एयर न्युजील्याण्डले पहिले देखिनै सेवा दिँदै आएको छ। अब Qantas को पुनःप्रवेशसँगै प्रतिस्पर्धा चर्किने अनुमान गरिएको छ।

Qantas ले यस सेवा मार्फत दक्षिण अष्ट्रेलिया र न्युजील्याण्डलाई मात्र नभई, अकल्याण्ड-न्युयोर्क मार्ग जोडेर एडिलेडबाट अमेरिका यात्रा गर्न चाहने यात्रुहरूलाई पनि थप सहजता प्रदान गर्ने बताएको छ।

दक्षिण अष्ट्रेलियाका प्रिमियर पिटर मालीनस्कसले यो खबरलाई सकारात्मक रूपमा लिँदै Qantas को यो पहलले भविष्यमा एडिलेडबाट थप अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुने आशा जगाएको बताएका छन्।

“Qantas ले एडिलेडबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरू गर्नु राम्रो समाचार हो। न्यूजील्याण्ड अष्ट्रेलियाको सबैभन्दा मिल्ने मित्र हो, र यस किसिमको कनेक्शनले हाम्रो सम्बन्ध अझ मजबुत बनाउनेछ,” प्रिमियर मालीनस्कसले प्रतिक्रिया दिए।

यस घोषणालाई व्यवसाय, पर्यटन, र अन्तर्राष्ट्रिय सम्पर्क विस्तारको दृष्टिले महत्वपूर्ण मानिएको छ। एडिलेडका बासिन्दाहरूका लागि पनि अब सीधा अकल्याण्ड तथा एक स्टपमार्फत न्युयोर्क पुग्न सजिलो हुनेछ।